प्रधानमन्त्रीले डाके एमालेसहित पाँच दलका शीर्ष नेताको बैठक

चुनाव
  • Get News Alerts

देउवाले पनि भोलि मधेसी मोर्चाका नेतासँग छलफल गर्ने
tata

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित पाँच दलका शीर्ष नेताको बैठक डाकेका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो। सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम र प्रतिपक्षी एमालेका शीर्ष नेतालाई बैठकमा बोलाएको छ।

बालुवाटार स्रोतका अनुसार स्थानीय चुनावको मिति नजिकिँदै गएको र आन्दोलनरत मधेसी मोर्चा र संघीय गठबन्धनले चुनाव बिथोल्ने भन्दै आन्दोलन कार्यक्रम घोषणा गरेको अवस्थामा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुनेछ। सत्तारुढ दलका नेताहरुले मधेसी मोर्चा सहभागी हुने भए चुनाव दुई चरणमा गर्दा पनि हुने सार्वजनिक अभिव्यक्ति दिइरहेको र एमालेले त्यसलाई चुनाव सार्ने चालबाजी भनिरहेका बेला प्रधानमन्त्री दाहालले प्रतिपक्षीसहितका प्रमुख दलका नेतासँग छलफल गर्न लागेका हुन्।

यसैबीच भोलि नै कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन्। देउवानिकट स्रोतका अनुसार स्थानीय तहको चुनावका विषयमा देउवाले मोर्चा नेताहरुसँग छुट्टै कुराकानी गर्न लागेका हुन्। देउवा र मोर्चा नेताहरुको भेटघाटको समय भने टुंगो भइसकेको छैन।

केही दिनअघि कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले संविधान संशोधन नगरी दुई नम्बर प्रदेशमा चुनाव गराउन गाह्रो हुने सुझाव दिएका थिए। आफ्नै पार्टीका सांसदले पनि संविधान संशोधन नगरी चुनाव गर्न नहुने सुझाव दिएपछि देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन्।

मधेसी मोर्चाका माग सम्बोधन गर्ने भन्दै सरकारले यसअघि संसदमा दर्ता गरेको संविधानको दोस्रो संशोधन प्रस्ताव फिर्ता गरेर नयाँ संशोधन प्रस्ताव दर्ता गरेको छ। मोर्चाले भने नयाँ संशोधन प्रस्तावले पनि आफ्ना माग पूरा नहुने र स्थानीय निर्वाचन बिथोल्ने भन्दै आमहड्तालसहितका आन्दोलन कार्यक्रम घोषणा गरेको छ।

Hyundai
nic asia
mahindra
hawali
alka

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार