नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई नै मन्त्रिपरिषदको दोस्रो वरियतामा राखेर अहिले देखिएको वरियता विवाद तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।
चीनको एक साता लामो भ्रमण सकेर फर्किएको भोलिपल्ट बिहिबार सत्ता साझेदार दलका नेता देउवासँग भेटवार्ता गर्न बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री दाहालसँग सभापति देउवाले यस्तो आग्रह गरेका हुन्।
कांग्रेस माओवादी गठबन्धनको सरकार गठनदेखि नै सरकार सहभागी सबैभन्दा ठूलो दल कांग्रेस रहेको र यसको नेताको हैसियतले पनि उपप्रधानमन्त्री निधि प्रधानमन्त्रीपछिको रोलक्रममा हुनुपर्ने आफू र आफ्नो दलको स्पष्ट अडान रहेको देउवाले बताएको बुढानिलकण्ठ स्रोतले सेतोपाटीलाई बतायो।
प्रधानमन्त्री दाहालले यसबारे आफूले छिट्टै वरियताको विवाद समाधान गर्ने जवाफ देउवालाई दिएका थिए।
उपप्रधान तथा गृहमन्त्री निधि चैतको पहिलो साता भारत भ्रमणमा रहेको बेला बसेको मन्त्रिपरिषदको बैठकमा निधिभन्दा माथि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापालाई राखेपछि दुई उपप्रधानमन्त्रीबीच वरियताको विवाद चर्किएको थियो।
चैत ४ गते दिल्ली भ्रमणबाट फर्किए लगत्तै कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाललाई बेग्लाबेल्लै भेटेर निधिले वरियताक्रममा आफूलाई थापाभन्दा तल राखिएमा मन्त्रिपरिषदमा बस्न नसक्ने जानकारी गराएका थिए।
त्यसपछि सभापति देउवासँग चीन भ्रमणमा जानुअघि नै वरियता विवाद मिलाएर जाने बचन दिएका प्रधानमन्त्री दाहालले विवाद सल्टाउन नसकेपछि आफ्नो भ्रमणको अनुमोदनका लागि मन्त्रिपरिषद बैठक बसाउन समेत सकेका थिएनन्।
जसको कारण चीन प्रस्थान गर्नुअघि कुनै पनि उपप्रधानमन्त्रीलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मा नलगाई फर्किएपछि मिलाउने भन्दै हिडेका थिए।
केही साता अघि सरकारमा सहभागी भएका राप्रपा अध्यक्ष थापाले आफू निधि भन्दा पहिले उप्रधानमन्त्री भएको भन्दै चैत पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमा दोस्रो वरियतामा आफूलाई राख्न लगाएका थिए।
वरियताको विषयमा कुनै लिखित प्रावधान नरहे पनि विगतमा पहिले मन्त्री बनेको व्यक्तिलाई पहिलो परियतामा राखिने चलन रहेको थियो। उक्त चलन अनुसार निधि र थापा भन्दा पहिले माओवादी नेता तथा अर्थमन्त्री कृष्णबहादुर महरा उप्रधानमन्त्री बनिसकेका थिए। तर कांग्रेस र माओवादी गठबन्धनमा नयाँ सरकार गठन भएपछि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा उपप्रधानमन्त्री महराभन्दा अगाडि निधिलाई राखिएको थियो।