हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ। चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो।
भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए। उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए।
‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उनले भने।
निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए। २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ।
जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लािग ६ दलले सूचीकृत गराएका छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले दलको नाम दर्ता गराएका छन्। रासस