सत्ता साझेदार नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको उम्मेद्वार तय गर्ने जिम्मेवारी सम्बन्धित निर्वाचन क्षेत्रलाई नै दिने भएको छ।
पार्टी केन्द्रीय कार्य समितिको मंगलबार सम्पन्न बैठकले निर्वाचन क्षेत्रलाई नै स्थानीय तहको निर्वाचनको उम्मेदवारी तय गर्ने जिम्मेवारी दिएको हो। निर्वाचन क्षेत्रमा रहेका सांसद, केन्द्रीय सदस्य, क्षेत्रीय र स्थानीय कार्य समितिले सम्बन्धित स्थानीय तहको निर्वाचनको उम्मेदवार तय गर्ने कार्यविधि तय गरिएको पार्टीका नेता रमेश रिजालले जानकारी दिए।
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र गतिमा अघि बढाउने योजनासहित पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन कमिटी र नेता महेश आचार्य नेतृत्वको निर्वाचन घोषणा–पत्र तयारी समिति पनि गठन गरेको छ।
काँगेस बैठकले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन एमाले र मधेशी मोर्चा दुवैलाई विश्वास लिएर अघि बढनुपर्ने निष्कर्ष पनि निकालेको छ। त्यसै गरी संघीय ढाँचा अनुसारको पार्टीको संगठनलाई पुनर्संरचना गर्ने गरी पार्टीको विधान संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ।