स्थानीय तहमा खटिएका कार्यकारी अधिकृतका लागि ‘स्थानीय तह सञ्चालन एवम् व्यवस्थापन सम्बन्धी’ अभिमुखीकरण आज यहाँ सुरु भएको छ।
राज्य पुनःसंरचनामा भएको ऐतिहासिक परिवर्तनलाई कार्यान्वयन गर्न कार्यकारी अधिकृतको गहन र महत्वपूर्ण जिम्मेवारी रहेकोले उनीहरुका लागि उक्त बिषयमा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो।
तीन दिने सो कार्यक्रममा सात नम्बर प्रदेशअन्तर्गतका सवै नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृत तथा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी सहभागी छन्।
सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले नयाँ संरचना गर्दा कायम भएका देशभरका सबै ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत खटाइसकिएको जानकारी दिए।
देशका सातवटै प्रदेशमा भएका अभिमुखीकरणको प्रत्यक्ष प्रसारणः
देशको सातवटै प्रदेशका १५ ठाउँमा भएका अभिमुखीकरण गोष्ठीको मन्त्रालयको पहलमा सूचना प्रविधिको प्रयोगमार्फत् प्रत्यक्ष प्रशारण गरी एक साथ सुरु गरिएको छ ।
मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले सबै ठाउँमा अभिमुखीकरण सुरु हुँदा एउटा ठाउँको सिकाइको सुविधा प्रयोग गरी सातवटै प्रदेशको १५ ठाउँमा सुन्ने र हेर्ने व्यवस्था गरिएको बताए।
कार्यक्रमको प्रत्यक्ष प्रशारणमा– ३ नम्बर प्रदेशको नगरकोटमा सुरु भएको अभिमुखीकरण गोष्ठीको उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुभारम्भ गरेको दृष्य देखाइएको थियो ।
मन्त्रालयले देशभरी एकैसाथ सुरु भएको अभिमुखीकरणको प्रत्यक्ष प्रशारण गरेर उच्च प्रविधिको प्रयोगको यात्रामा पहिलो पाइला चालेको सहसचिव पाण्डेले बताए। रासस