एमाले अध्यक्ष केपी ओलीले देशका महत्वपूर्ण सबै क्षेत्रहरू राजनीतिबाट पीडित भएको बताएका छन्।
देशको दिगो विकासबारे बुद्धीजिविसँग सोमबार छलफलमा बोल्दै एमाले अध्यक्ष ओलीले सुशासन, पुनर्निर्माण, शिक्षा र स्वास्थ्य लगायतका सबै क्षेत्र राजनीतिबाट पीडित भएको बताएका हुन्। ‘राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम गर्न लाग्दै थियो यसका प्रमुख कार्यकारी अधिकृतलाई राजनीतिक प्रतिशोधका कारण हटाइयो,’ उनले भने, ‘पुनर्निर्माणमा भएको राजनीतिकरणकै कारणले आउँदो बर्षादमा पनि भूकम्पपीडितको घर नबन्ने भयो।’
नेपाल एउटा देश वेष्ठित नभई भुपरिवेष्ठित देश भएकोले नेपाल निर्वाद रुपमा समुन्द्रसम्म जान पाउने उनले बताए।
आफ्ना पालामा परराष्ट्र सम्बन्ध सन्तुलित भए पनि त्यसलाई असन्तुलित भएको भनेर व्याख्या गरिएको भन्दै उनले भने, ‘सन्तुलित सम्बन्ध भएको बेलामा असन्तुलित भनियो अनि कोल्टे परेको बेलामा सन्तुलित भनिएको छ।’
राष्ट्रिय एकता, सामाजिक सद्भाव अनि देशको दिगो विकासका लागि एमाले दलीय घेराभन्दा माथि उठ्ने उनले बताए। दुई चार जनाको जिद्धीका कारण निर्वाचन हुन्छकि हुँदैन भन्ने आशंकालाई हटाउनुपर्ने भन्दै उनले भने, ‘स्थानीय निर्वाचन भएन भने अन्य निर्वाचन गर्न पनि कठिन हुन्छ।’
नेपालको भूगोल दिगो विकासका लागि अनुकुल रहेको भन्दै ओलीले जनताको खान पाउने अधिकारको ग्यारेण्टी हुनुपर्ने बताए ।
खाने चिन्ताबाट सबैले मुक्ती पाउनुपर्ने उनले बताए।
आर्थिक उन्नतीका लागि एक दशक काफी छ,’ उनले भने, ‘दिगो विकासका लागि मात्रै बीस पच्चिस वर्ष लाग्ने हो ।त्यसका लागि योजनाबद्ध ढंगले अघि बढ्नपर्छ।’
कार्यक्रममा बुद्धीजीबीहरुले विकासको बाधकनै राजनीति भएको बताए। कार्यक्रममा उपस्थित भएका बिभिन्न क्षेत्रका विज्ञहरुले विकासको बाधक अस्थिर राजनीति भएको बताएका हुन्। पूर्वाधारविद सूर्यराज आचार्यले पार्टीभित्र रहेको बुद्धीजीवीहरुको संगठन पनि पनि राजनीतिक दलहरुलाई बिगार्न भूमिका खेलेको बताए।
उनले पार्टीका यस्ता संगठनलाई बिघटन गर्नुपर्ने बताए। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले भ्रष्टचारको जालो तोड्न राजनीतिक इच्छाशक्तीको जरूरी रहेको बताए। विकासको प्राथिकता छुट्टाउनुपर्ने भन्दै उनले ऊर्जाको क्षेत्रलाई पहिलो प्राथमिकता दिन सुझाव दिए। अर्थविद गोविन्द बहादुर थापाले बजेट योजना कार्यान्वयन र रणनीतिमा नभई राजनीतिमा समस्या भएको तर्क गरे।
धुर्मुस सुन्तलीले काम गर्छु भन्दा पैसा पाउने राज्यले किन नपाउने भन्दै उनले भने, ‘राज्यले नपाउने भन्ने हुन्न तर राज्यले गफ मात्रै गर्छ काम गर्देन त्यसैले पाएको रकम पनि गुम्छ।’
वरिष्ठ पत्रकार कनकमणि दीक्षितले राजनीतिक स्थायीत्वका लागि स्थानीय तहको निर्वाचन अनिवार्य रहेको बताए। ‘अहिलको संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ,’ उनले भने, ‘संविधानलाई उपलब्धि मान्नुपर्छ भनेर जनतालाई बुझाउन सकिएको छैन। दुई नम्बर प्रदेशमा यो अभियान अझै जरूरी छ।’
धर्म र राजनीतिलाई मिसाउन नहुने भन्दै उनले दक्षिण सीमामा यस्तो भइरहे पनि नेपालमा हुन नहुने बताए। वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाले हरेक क्षेत्रलाई राजनीतिले बिगारेको भन्दै दलहरूले राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने बताए।
त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त माथेमाले राजनीतिक दलले सत्तामा पुगेपछि आफ्नै कार्यकर्ता र ट्रेड युनियनसँग लड्नुपर्ने अवस्था रहेको बताए। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकहरुले गरेको राजनीतिका कारणले शिक्षा क्षेत्रनै ध्वस्त भएको बताए।