निर्वाचन आयुक्त सुदिप कुमार शाहले सरकारले सुरक्षा दिए निर्वाचन आयोग देशभर एकै चरणमा एकैदिन निर्वाचन सम्पन्न गर्न सक्षम रहेको बताएका छन्। सर्वसाधारणलाई निर्वाचन स्थलसम्म आउने वातावरण तयार गर्ने र सुरक्षाको व्यवस्था मिलाउने दायित्व सरकार र राजनीतिक दलको रहेको उल्लेख गर्दै उनले आयोगले दुई नं. प्रदेशमा समेत एकै चरणमा निर्वाचनको कार्यक्रम लिएर जाने दाबी गरे।
बुटवलमा संचारकर्मीसँग कुरा गर्दै निर्वाचन आयुक्त शाहले भने, ‘राजनीतिक तथा अन्य अदृश्य कारणले समेत दुई नं. प्रदेशमा चुनाव गर्न नसकिने अवस्था रहेपनि हामी त्यहाँ चुनावी कार्यक्रम लिएर जान्छौं।’
मतपेटिका अभावको कारण सरकारलाई दुई चरणमा निर्वाचन गर्न सुझाव दिए पनि सरकारले एकै चरणमा निर्वाचन गर्नुपर्ने बताएपछि थप मतपेटिका खरिद गर्ने काम समेत पुरा भईसकेको भन्दै उनले अब निर्वाचनको लागि शान्तिसुरक्षाको व्यवस्था मिलाउने काम सरकारको रहेको बताए। उनले थप २५ हजार मतपेटिका खरिद गर्ने काम भईसकेको र निर्वाचनको तयारीका अरु कामहरु पनि तिव्र रुपमा भईरहेको बताए ।
उनले देशभर ३६ हजार ६ सय ८० पदको लागि २१ हजार मतदान केन्द्रमा एकैपटक निर्वाचन हुने जानकारी दिए । निर्वाचन आयुक्त शाहले अहिलेको निर्वाचनमा उम्मेदवारको संख्या र निर्वाचनमा भाग लिने दलहरुको संख्या समेत धेरै रहेकोले मतपत्रको डिजाईन सोचेजस्तो सहज र सरल नहुने बताए।
‘एउटै मतपत्रमा धेरै चुनाव चिन्हहरू छाप्दा मतदाता अलमलमा पर्न सक्ने सम्भावना हुनसक्छ हामी बदर मत घटाउने र सदर मत बढाउने गरी विभिन्न माध्यमबाट मतदाता शिक्षालाई सर्वसाधारणको घरदैलोमा पुर्याउने अभियानमा छौं,’ उनले भने ।
सबै स्थानीय निकायमा कार्यरत सामाजिक परिचालक र स्वयंसेवक मार्फत बैशाख १ गतेदेखि २९ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने गरी क्षेत्रीयस्तरमा तालिम संचालन भईरहेको शाहले जानकारी दिए । सोही क्रममा पांच नं. प्रदेशका विभिन्न ६ वटा जिल्लाका निर्वाचन अधिकृतहरुका लागि बुटवलमा संचालन भएको मतदाता शिक्षा तालिम आईतवार सकिएको छ ।