प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मनजीभ सिंह पुरीबीच भेटवार्ता भएको छ। आईतबार राष्ट्रपति विद्या भण्डारीलाई ओहोदाको प्रमाण पत्र बुझाएका नवनियुक्त भारतीय राजदूत पुरीले सोमबार विहानै प्रमुख प्रतिपक्ष नेताका नेता ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।
एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा द्धिपक्षीय हितका बहुआयामिक विषयमा छलफल भएको थियो । परिचयबाट सुरु भएको छलफल नेपाल भारतबीचको सदियौंदेखिको सम्बन्ध अझै बिस्तार गर्ने विषयमा पुगेर टुंगिएको भेटमा सहभागी एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।
झण्डै एक घण्टा लामो बसाईमा प्रमुख प्रतिपक्ष दलका नेता ओलीले संविधानमा व्यवस्था गरिएको अधिकार स्थानीय तहसम्म पुर्याउने गरी नेपाली राजनीतिक अघि बढिरहेको जानकारी राजदूत पुरीलाई गराएका थिए। उता, राजदूत पुरीले पनि नेपाल भारतबीचको घनिष्ट सम्बन्धलाई अझै विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे।
राजदूत पुरीले ओहोदाको प्रमाण पत्र बुझाएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष ओलीसँगको शिष्टचार भेटमा उनले नेपाल भारतबीचको सम्बन्ध घनिष्ट रहेको र त्यो अझै घनिभूत भएर जाने विश्वास व्यक्त गरेका थिए। यस अघिका भारतीय राजदूत रञ्जीत रायले संविधान जारी गर्न समेत अवरोध गरेको आरोप झेल्न परेको थियो । नवनियुक्त राजदूत पुरीको आगामी भूमिका पनि रुचिपूर्वक हेरिएको छ।