चीनको अौपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले अाज दिउसो चिनियाँ राष्ट्रपति सी चिनफिङसगँ भेट गर्दैछन्।
सो भेटको तयारी स्वरुप आइतबार साँझ प्रधानमन्त्री दाहाल तथा परराष्ठ्रमन्त्री प्रकाशशरण महत सहितको नेपाली टोलीले चीनका अार्थिक मामिला हेर्ने उपप्रधानमन्त्री वाङ याङसँग रात्रीभोजमा छलफल गरेका छन्। राष्ट्रपति सीकै निर्देशनमा आफूले नेपाली टोलीसँग तयारी छलफल गरेको उपप्रधानमन्त्री वाङले जानकारी गराएको परराष्ट्रमन्त्री महतले सेतोपाटीलाई बेइजिङबाट टेलिफोनमा बताए।
'आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री भएकोले राष्ट्रपतिले मलाई तपाईँहरुसँग बिशेष गरी नेपालका आर्थिक एजेण्डाहरूमा छलफल गरी तयारी गर्न अह्राउनु भएको हो,' वाङलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री महतले भने।
उपराष्ट्रपतिसँगको बैठकमा नेपालले बिशेष गरी ‘कनेक्टिभिटी'को मुद्दालाई जोडतोडका साथ उठाएको छ। रेल्बे, सडक, ट्रान्समिसन लाइनको बिकासमार्फत चीनसँगको पहुँच बढाउन नेपाल इच्छुक रहेकोले तिनको बिकासलाई तीव्र गतिमा बढाउन नेपालले आग्रह गरेको छ। त्यस्तै नेपालले चीन र नेपालबीच अादानप्रदान भएको बेल्ट एन्ड रोड सहमतिको मस्यौदालाई अन्तिम रूप दिएर हस्ताक्षर गर्न पनि अनुरोध गरेको छ।
'हामीले तयारी अवस्थामा रहेको बेल्ट एण्ड रोड सहमतिपत्रमा छिट्टै हस्ताक्षर गर्न र सडक, रेल्बे, टान्समिसन लाइनको बिकास अघि बढाएर नेपाल र चीनबीच कनेक्टिभिटी बिस्तार गर्न बिशेष जोड दिएका छौं,' मन्त्री महतले भने, 'छलफलका क्रममा मैले रेल्वेको डिपिआर चीनलाई नै तयार गरिदिन अनुरोध गरेको छु। डिपिअार तयार भयो भने कुन मोडालिटीमा रेल्वे निर्माण गर्ने, निजी वा सरकारी लगानी कति, कसरी जुटाउने भन्ने निर्णयमा पुग्न सजिलो हुन्छ।'
पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी सजिलै अाउन गाह्रो हुने हुँदा चीनको पहलमा खुलेको एसियन इन्फ्रास्ट्रकचर बैकंमार्फत् रेल्वे लगायतका पुर्वाधारमा लगानी जुटाइदिन पनि नेपालले अाग्रह गरेको महतले बताए।
सो अवसरमा उपप्रधानमन्त्री वाङले रेल्वेको कामलाई तीव्रता दिन दुई देशका रेल्वे हेर्ने बिभागलाई प्राबिधिक लगायतका छलफल अघि बढाउन निर्देशन दिनुपर्ने सुझाएका थिए। दुबै पक्षबीच अहिलेसम्म भएका र भबिष्यमा हुने सहमति, समझदारीलाई अघि बढाउन द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउने र तिनको नियमित बैठक गर्ने पनि सहमति भएको छ।
नेपाललाई चीनसँग जोड्ने कोदारी राजमार्ग चाँडै खोल्न नेपालले गरेको अनुरोधमा वाङले भूकम्पले त्यसमा ठूलो क्षति पुर्याएकाले चीन सरकारले अझै त्यसको प्राविधिक पक्षको अध्ययन गरिरहेको जानकारी दिए। सम्भव भयो भने चाँडै नै सो राजमार्ग खोल्ले निर्णय गर्ने उनले बताएका थिए।
सोमबार बिहान प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्री महतले नेपालमा लगानी गर्न इच्छुक चिनियाँ कम्पनीका प्रमुखहरूलाई सम्वोधन गरे। प्रधानमन्त्री दाहालले उनीहरूका जिज्ञासाको जवाफ पनि दिएका थिए। अाज साँझ
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने प्रधानमन्त्री दाहालको भेटमा उपप्रधानमन्त्री वाङसँग भएका छलफलका बुँदामा समझदारी हुने मन्त्री महतले जानकारी दिए।