काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा चैत्र १५ गते हुने भनिएको स्ववियु निर्वाचन रोक्न विभिन्न नौ विद्यार्थी संगठनले माग गरेका छन्। नेपाल विद्यार्थी संघ र अखिल(क्रान्तिकारी) सहितका विद्यार्थी संगठनले चुनाव रोक्न माग गरेका हुन्।
शनिबार राति बागबजारमा रहेको अखिल (क्रान्तिकारी)को कार्यालयमा वसेको बैठकबाट चुनाव रोक्न माग गर्ने निर्णय भएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए।
बैठकमा संलग्न नौ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति समेत निकालेका छन्। विद्यार्थी संगठनहरुसँग कुनै छलफल नै नगरी क्याम्पस प्रशासनले चुनावको मिति तोकेको उनीहरूले आरोप लगाएका छन्।
यस्तै निर्वाचन आयोगले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको अवस्थामा फागुन १९ गते नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचन प्रक्रिया अगाडि बढाइनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ।
१५ गते स्नातकोत्तर तहको परीक्षा रहेको, क्याम्पसमा असहज परिस्थितिको सिर्जना भएकोले विद्यार्थीहरुले मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुने भएकाले निर्वाचन स्थगित गर्नुपर्ने निष्कर्षमा पुगेको बस्नेतले बताए।
फागुन १८ गतेका लागि तोकिएको निर्वाचन विद्यार्थी संगठनहरूको विवादका कारण स्थगित भएको थियो। १८ गते मतदान हुन नसकेपछि क्याम्पस प्रशासनले २३ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो।
विद्यार्थीहरू मतदान गर्न लाइनमा बसेपनि यो दिन मतदान सुरू हुन सकेन।
क्याम्पस प्रशासनले क्याम्पस प्रमुख निर्मला सुवाल लगायतलाई प्रहरीले क्याम्पस प्रवेश गर्न नदिएका कारण चुनाव हुन नसकेको जनाएको थियो। प्रमुख सुवालले फागुन २४ गते विज्ञप्ति निकालेर निर्वाचन गराउन आफू प्रतिबद्ध रहे पनि सुरक्षा संयन्त्रको असहयोगका कारण चुनाव हुन नसकेको स्पष्टिकरण दिइन्।
निर्वाचन आयोगले फागुन १८ पछि निर्वाचन कार्यक्रम घोषणा तय गरी चुनाव गराउन समेत बन्देज लगाएको थियो। तर, क्याम्पस प्रशासनले निर्वाचन कार्यक्रम पहिल्यै सार्वनजिक भइसकेको तर मतदान मात्रै हुननसकेकाले मतदानको मिति पुन: २३ गतेका लागि तय गरिएको तर्क अघि सारेको थियो।
२३ गते निर्वाचन हुन नसकेपछि अनेरास्वियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेद्वार तपेन्द्र बहादुर शाहीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए। उनको मुद्धामा चैत २ गते फैसला गर्दै सर्वोच्चले चुनाव गराउन अन्तरिम आदेश दिएको थियो।
यही आदेशका आधारमा क्याम्पस प्रशासनले चैत १५ गतेका लागि मतदानको मिति तोकी तयारी अगाडि बढाएको छ। चुनाव आउन पाँच दिन बाँकी हुँदा विभिन्न नौ विद्यार्थी संगठनले चुनाव रोक्न माग गरेका हुन्।
विज्ञप्तिमा नेविसंघ अध्यक्ष नैनसिंह महर,अखिल(क्रान्तिकारी)का उपाध्यक्ष अनिल शर्मा, अखिल(छैठौं)का अध्यक्ष विमल पोखरेल, समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राई,तराई मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्र, अखिल(पाँचौ)का अध्यक्ष घनश्याम मिश्र, राप्रविसंका प्रवक्ता क्षितिज सुवेदी, मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)का उपाध्यक्ष पारस चौधरी र नयाँ शक्ति विद्यार्थी युनियनका कार्यालय सदस्य युवराज ढकालले हस्ताक्षर गरेका छन्।