नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लामो समयपछि पहिलो पटक आइतबार बिहान पार्टी मुख्यालय सानेपामा सुरु भएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ९ बुँदे एजेन्डा पेश गरेका छन्। २९ सदस्य कार्यसम्पादन समिति गठनदेखि स्थानीय निर्वाचनको विषयमा पार्टीको धारणाबारे एजेण्डा प्रस्तुत गरेका छन्।
देउवाले बिधानको दफा २९ अनुसार पार्टीको २९ सदस्य कार्यसम्पादन समिति गठन गर्न प्रस्ताव राखेका छन्। यसमा शेखर कोइराला नपरेपछि उनले बिरोध गरेका छन्।‘म भन्दा पछाडिकालाई माथि र मलाई तल किन राखियो। कुन आधारमा रखियो,’ १३औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएका कोइरालाले प्रश्न गरेका छन्।
यस्तै २ नम्बर एजेण्डामा दफा ३७ अनुसार केन्द्रीय विभागलाई ४२ बनाउने विषयमा छलफल गर्नुपर्ने भन्दै प्रस्तुत भएको छ। यस्तै स्थानिय तहको निर्वाचनको पार्टी घोषणापत्र बनाउनका लागि पार्टीले तयारी समिति बनाउने विषयमा छलफल गर्नुपर्ने एजेन्डा पेश गरेका छन्।
निर्वाचन परिचालन समिति गठन, नवगठित गाउँपालिका र नगरपालिकामा पार्टीको नयाँ सांगठनिक संरचना बनाउने विषयमा पनि छलफल केन्द्रीत हुने भएको छ। यस्तै पार्टीले स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वार छान्न केन्द्रीय समिति गठन गर्ने भएको छ।
यस्तै जिल्लामा खटाइएका समितिको प्रतिवेदन पेश गर्ने र सदस्यताबारे छानबिन समितिको प्रतिवेदन प्रस्तुत गर्ने पनि एजेन्डामा परेको छ।