फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ । क्याम्पस प्रमुख डा निर्मलकुमार सुवालले सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका हुन्।
सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौंका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको हो। ‘सर्वोच्चले चैत २ गते मतदानको मिति तोकी तत्काल निर्वाचनसम्बन्धी बाँकी कार्य सम्पन्न गर्न यस क्याम्पस समेतको नाममा अन्तरिमा आदेश जारी गरेको छ ।
क्याम्पसले मङ्गलबार बिहान ८ देखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा प्रकाशित भएका मतदातालाई मतदानमा सहभागी हुन अनुरोधसमेत गरेको छ । क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए।
विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो । रासस