तराई, मधेस, थरुहट आन्दोलनको क्रममा भएको घटनाहरु बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानविन आयोगले शनिबार र आईतबार महोत्तरीका पीडितसँग सोधपुछ तथा उजुरी संकलन गरेको छ।
संविधान जारी हुनु पूर्व तथा पश्चात मधेस तथा थरूहटमा भएका आन्दोलनको क्रममा भएका हत्या, हिंसा, तोडफोड, आगजनी तथा मानवअधिकार हननका घटनाबारे जानकारी लिन, पीडित परिवारहरुको समस्या बुझ्न तथा घटनास्थलको स्थलगत निरीक्षण गर्न अध्यक्ष लालसहित आयोगका सदस्यहरु सूर्यप्रसाद कोईराला, नवराज ढकाल, सुखचन्द्र झा, सुजन लोकचनसहित आयोगका कर्मचारीहरु अहिलर् महोत्तरीमा छन्।
शनिबारदेखि सुरु भएको स्थलगत निरीक्षण चैत १४ गतेसम्म जारी रहने तथा यस क्रममा महोत्तरीमा भएका मानव अधिकार हनन सम्बन्धी घटनाहरुको निरीक्षण, प्रमाण तथा उजुरी संकलन एवं सरोकारवालासंग विमर्श गरिने आयोगका अध्यक्ष गिरीशचन्द्र लालले बताए। आयोगका अध्यक्ष लालका अनुसार आयोगमा हालसम्म १३ सय उजुरी दर्ता भइसकेका छन्। सयौं उजुरी अझै पनि दर्ता हुन बाँकी रहेको उनले स्वीकार गरे ।
अन्तरक्रियामा सहभागी सहिद परिवार, घाइते तथा मोर्चा सम्बद्ध राजनीतिक दलका नेताहरुले आयोगको कामकाज बारे प्रश्न उठाएका थिए। यसअघि पनि अनेकौ आयोग बने। प्रतिवेदन समेत बुझाइए तर कसैमाथि कारबाही भएको थाहा छैन। अनि यस आयोगले के गर्ला त?
मधेस आन्दोलनको क्रममा महोत्तरीमा प्रहरीको गोली लागेर जलेश्वरनगरपालिका ७ बजराही १७ वर्षिय रोहन चौधरी ६० वर्षीय रेडक्रसकर्मी गणेश चौधरी महोत्तरी गाविस ५का २२ वर्षिय रामविवेक यादव पिगौना ५का वर्षीय विरेन्द्र विच्छा जलेश्वर नगरपालिका १४ बखरीका मुसवा भनिने अमित कापर र हातिलेट ९ घर भएकी ३६ वर्षिया रामशिला मण्डल मृत्यु भएको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिई सुरक्षाकर्मीहरुले गोली हानेको आरोप मृतकका परिवारजनले लगाएका थिए। अपराधीमाथि कारवाही हुनुपर्छ भन्दै परिवार आक्रोश पोखेका थिए ।
आन्दोलनको क्रममा गोली लागि सख्त घाइते बनेका र सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक थमनबहादुर विकको हत्या र उनी चढेको एम्बुलेन्समा आगजनी गरेको अभियोगमा जिल्ला अदालत महोत्तरीमा दर्ता गरिएको कर्तव्यज्यान मुद्दामा २८ र एम्बुलेन्समा आगजनीसम्बन्धी मुद्दामा २५ जनाका परिवारजनले समेत आयोग समक्ष मुद्दा फिर्ता नभएको र क्षतिपूर्ति समेत नपाएको गुनासो गरेका थिए ।
‘न सरकारले कुनै सहयोग गर्यो, नत मधेसी मोर्चाका नेताहरुले नै वास्ता गरे,’ भावुक बन्दै उनीहरुले आयोगका प्रतिनिधीहरु माझ भनेका थिए।