नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने दाबी गरेका छन्। पार्टीले सुरू गरेको हिमाल, पहाड, मधेश, तराई थरुहट राष्ट्रिय एकता अभियान अन्तर्गत शुक्रबार भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले चुनाव चाहेको तर सबै क्षेत्रको हक अधिकारको ग्यारेण्टी नहुँदासम्म चुनाव गर्नुको कुनै अर्थ नरहेको दाबी गरे।
संघीयता भनेकै सबै जातजाति, धर्म संस्कृति र समुदायलाई अधिकार दिने माध्यम भएको जनाउँदै संविधान संशोधनबाटै मधेसी, आदिवासी, थारुहरुको माग सम्बोधन गरेर मात्र चुनावमा जानुपर्नेमा जोड दिएका हुन् ।
उनले पिछडिएका समुदायको अधिकार सुनिश्चतका लागि पनि संविधान संशोधन गर्न जरुरी भएको बताउँदै वर्षौंदेखि मिलेर बसेको समुदायलाई अधिकार दिँदैमा मधेश अलग देश भन्छ भन्नु हाँस्यापद भएको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नयाँ शक्तिले देश बनाउने समृद्धिको सपना देखेर अगाडि बढिरहेको बताउँदै अबको चुनावमा पार्टीलाई पहिलो शक्ति बनाई समृद्धिको सपना पुरा गर्नुपर्ने बताए। उनले अहिलेका राजनीतिक शक्तिहरुबाट देश विकास असम्भव भएको बताउँदै देश विकास गर्ने एक मात्र शक्ति नयाँ शक्ति भएको समेत दाबी गरे।
उनले केही पार्टीहरुले एक अर्का समुदायबीच झगडा गराई सदियौंदेखि मिलेर बसेको समुदायमा विचलन ल्याउन लागेको आरोप समेत लगाए। फरक प्रसंगमा भट्टराईले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लागेको समेत आरोप लगाए ।
निजी क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलबाट ३६ अर्ब रूपैया कर नउठाई सरकारले छुट दिन लाग्नु संस्थागत भ्रष्टाचार भएको उनको भनाई थियो।