वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई हिमालपारिको जिल्ला मुस्ताङमा ३७ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला मतदान केन्द्र सिफारिस समितिले पाँच गाउँपालिकामा उक्त सङ्ख्यामा मतदान केन्द्र निर्धारण गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको हो।
जिल्ला निर्वाचन अधिकारी सीताराम शर्मा लामिछानेले मतदातालाई असहज नहुने तरिकाले मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिए । “धेरैमा आधा घन्टाको बाटोमा हामीले मतदान केन्द्र निर्धारण गरेका छौँ । सबैले मतदान गर्ने वातावरण पनि बन्दैछ”, उनले भने।
मुस्ताङमा पाँचवटा गाउँपालिकामध्ये लोमान्थाङ गाउँपालिकामा सबैभन्दा बढी मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
विभिन्न चरणमा सङ्कलन गरिएको फोटोसहितको मतदाता नामावलीबाट जिल्लामा आठ हजार पाँचसय ३७ मतदाता रहेको अधिकारी लामिछानेले जानकारी दिए। “केही दिनमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा हामी जुटेको छौँ, बदर मतलाई कम गराउने अभियानमा कार्यालय लागेको छ”, उनले भने। रासस