चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन्।
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नेछन्। रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नेछन्।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्ने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नेछन्।
चिनियाँ रक्षामन्त्रीको तीनदिने भ्रमणमा राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकका लागि प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिएका छन्।
चीनले राष्ट्रसंघीय शान्ति सेनामा खटिने नेपाली सैनिकलाई सवारीसाधनलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। प्राविधिक सहयोग निरन्तरताका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको रक्षा मन्त्रीले बताए।
चीनले नेपाली सेनालाई दिने सैन्य सहयोग वृद्धिसम्बन्धी अर्को समझदारी पत्रमा पनि हस्ताक्षर हुनसक्नेछ। चीनले अघि बढाएको ‘वन बेल्ट वन रोड’ अवधारणामा नेपालको सहभागिताबारे पनि भ्रमणमा कुराकानी हुनेछ।
चीन र नेपालबीच संयुक्त सैन्य तालिमको पूर्वसन्ध्यामा चिनियाँ रक्षामन्त्री नेपाल आएका हुन्। उनी यहाँबाट बंगलादेश भ्रमणमा जाने छन्। नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले चीनसँग सैन्य तालिमबारे गृहकार्य जारी रहेको तर टुंगिइनसकेको बताए।
श्रीलंका भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री चाङ नेपाल हुंदै स्वदेश फर्किनेछन्। रक्षामन्त्री खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री सद्भावना भ्रमणमा नेपाल आउन लागेका हुन्।