वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ।
डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य सम्पन्न गरिसकेको जिल्ला निर्वाचन अधिकृत कृष्णसिंह नायकले जानकारी गराए।
जिल्लास्थित मतदान केन्द्र सिफारिस समितिले डडेल्धुरामा ७७ निर्वाचन स्थलका लागि निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ, भने निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको विवरण समेत सङ्कलन गरिसकेको छ ।
डडेल्धुरामा १३ राजनीतिक दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम पनि तुरुन्तै सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत नायकले जनाएका छन्।
डडेल्धुरा जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा ७६ हजार मतदाता रहेको जनाइएको छ । जिल्लामा ७६ हजार ९८८ मतदाता रहेको भए पनि निर्वाचन आयोगबाट अन्तिम नामावली आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्लाको सुरक्षा अवस्थाका बारेमा रणनीति बनाइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लास्थित सम्पूर्ण राजनीतिक दलको सहमतिमा निर्वाचनस्थल निर्धारण गर्नुका साथै सुरक्षाको व्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल गरिरहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए।
जिल्लास्थित राजनीतिक दलसमेत आआफ्ना कार्यक्रम लिएर सदरमुकामदेखि गाउँपालिका र वडासम्म गाउँ अभियानमा व्यस्त रहेका छन् ।
करिब दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनपश्चात् विकासले गति लिने समेत आम सर्वसाधारणले विश्वास लिएका छन् । रासस