नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, स्थानीय निकायको निर्वाचन, संसद्को चालु अधिवेशन र चीन भ्रमणबारे संसदीय दललाई जानकारी गराए।
सिहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा अध्यक्ष दाहालले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयौं विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नुपर्नाको कारणबारे जानकारी दिएका प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए।
बैठकले केही समयअघि सप्तरी र कञ्चनपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।
संसदीय दलले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे प्रदेश संयोजक र संसदीय समितिले सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको बस्नेतले बताए। बैठकमा संसदीय दलको बैठकलाई निरन्तरता दिनुपर्ने सांसदको आवाजलाई आगामी दिनमा सम्बोधन गरिने विषयमा नेतृत्वबाट प्रतिवद्धता व्यक्त भएको थियो। रासस