तस्बिरः सागर
आगामी वैशाख ३१ गते हुने स्थानीय चुनाबबाट कास्कीमा ३ सय ८१ जना जनप्रतितिधि चयन हुने भएका छन्।
देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरा-लेखनाथ महानगरपालिकामा सबैभन्दा बढी १ सय ७० जना चयन हुने छन्। त्यसै गरि मादी गाउँपालिकामा ६४, अन्नपूर्ण गाउँपालिकामा ५९, माछापुच्छे गाउँपालिकामा ४९ र रूपा गाउँपालिकामा ३९ जना चयन हुने व्यवस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुवेदीले बताए । यसमध्ये कम्तीमा १ सय ४४ जना महिला प्रतिनिधि चयन छन् ।
स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र सदस्य मिलेर गाउँपालिकामा गाउँसभा र नगरपालिकामा नगरसभा गठन हुन्छ। गाउँपालिका र नगरपालिकाको प्रत्येक वडामा पाँच जनाका दरले जनप्रतिनिधि चुनिनेछन्। त्यसमा एक जना वडाअध्यक्ष र चार जना सदस्य हुनेछन्।
चार जना सदस्यमध्ये एक दलित महिला र अको एक थप महिला गरी दुर्इ महिला अनिवार्य हुनुपर्छ। त्यसपछि नगर सभाको रुपमा सबै वडाका निर्वाचित वडाअध्यक्षसहित चारैजना सदस्य प्रवेश गर्नेछन्। यसले हिसाब गर्दा पोखराको ३३ वडाबाट १ सय ६५ जना नगरसभामा स्वतः सदस्य हुनेछन्।
यसबाहेक नगर प्रमुख र उपप्रमुख नगरपालिका क्षेत्रभित्रबाट छुट्टै निर्वाचित हुनेछन् भने दलित वा अल्पसंख्यक समुदायबाट पनि तीन जना सदस्यका रुपमा चुनिनेछन्।
नगरसभाबाट छरितो संख्यामा नगर कार्यपालिकाको गठन हुन्छ। जसमा प्रमुख र उपप्रमुखसहित वडा अध्यक्ष र अरु सदस्य निर्वाचित हुन्छन्।
पोखरामा एक प्रमुख, एक उपप्रमुख, ३३ वडाध्यक्ष, पाँच जना महिला र तीनजना दलित तथा अल्पसंख्यक समुदायबाट नगरकार्यपालिकाको रुपमा निर्वाचित भएर ४३ जनाको नगरकार्यपालिका गठन हुन्छ। यसरी चुनिने सदस्य नगरसभाकै सदस्यबाट निर्वाचित हुनेछन्।
यस्तै, गाउँपालिकामा पनि सोही प्रक्रियाले गाउँसभा र गाउँकार्यपालिका गठन हुन्छ। सबैभन्दा ठूलो मादी गाउँपालिकामा ६४ जनाको गाउँसभा बन्छ। माछापुच्छ्रेमा ४९, अन्नपूर्णमा ५९ र रुपामा ३९ जनाको गाउँसभा हुन्छ।
गाउँकार्यपालिकामा भने नगरको भन्दा फरक ब्यवस्था छ। अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष समान भए पनि महिला चार जना र दलित तथा अल्पसंख्यक समुदायबाट दुर्इजना मात्रै निर्वाचित गर्न पाइनेछ। जसअनुसार मादीमा २० जनाको गाउँकार्यपालिका गठन हुन्छ। अन्नपूर्णमा १९, माछापुच्छ्रेमा १७ र रुपामा १५ जनाको गाउँकार्यपालिका गठन गर्न मिल्ने कानुनी प्रावधान छ।
गाउँ वा नगरसभालाई आफ्नो क्षेत्रभित्र लागू हुने गरी कानुन बनाउने, विकास निर्माणका योजना तय गर्नेलगायत महत्वपूर्ण काम गर्ने अधिकार हुन्छ। उक्त सभालाई संविधानले नै २२ प्रकारका अधिकार प्रयोग गर्ने ब्यवस्था मिलाएको छ।
गाउँ र नगरसभाबाट गठन हुने गाउँकार्यपालिका र नगरकार्यपालिका सम्बन्धित स्थानीय तहको सरकार हो। गाउँपालिका र नगरपालिकामा निर्वाचित भएका प्रतिनिधिबाट जिल्ला सभाको गठन हुन्छ भने यसले समन्वयको काम मात्रै गर्दछ।
यसैबीच, स्थानीय तहको चुनावमा उम्मेद्वार बन्न २१ वर्ष पूरा भएको हुनुपर्ने संविधानमै स्पष्ट ब्यवस्था छ। तर, उम्मेद्वारी दिन चाहने व्यक्तिको नाम सम्बन्धित गाउँपालिका, नगरपालिका वा वडाको मतदाता नामावली सूचीमा अनिवार्य हुनुपर्छ। मतदाता नामावलीमा नाम नभएको वा अन्त्रय भएको व्यक्तिले उम्मेद्वारी दिन पाउने छैनन्।
कास्कीमा हालसम्म २३ दल दर्ता छन्। नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय शिवसेना, नेपाल परिवार दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, विवेकशील नेपाली, सद्भावना पार्टी राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेकपा संयुक्त, युनाइटेड ग्रिन अर्गनाइजेसन, तराई मधेस लोकतान्त्रिक पार्टी नयाँ शक्ति पार्टीनेपाल, नेकपा माले, राष्ट्रिय यथार्थवादी पार्टी राष्ट्रिय जनमुक्ति पार्टी देशभक्त समाज, अखण्ड नेपाल पार्टीर नेकपा (माले जनसमाजवादी० पार्टीकास्कीमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
कास्कीका पाँच स्थानीय तहको चुनावका लागि १ सय ५० मतदान स्थल रहने प्रमुख सुबेदीले बताए ।