नेकपा एमालेले तराईमधेसमा चलाएको १५ दिन लामो 'मेची-महाकाली राष्ट्रिय अभियान' केही दिन अघि मात्रै सकिएको छ। तराईका ३३ स्थानमा सभा गर्ने भनिएपनि राजविराज घटनापछि एमालेले २ नम्बर प्रदेशमा तत्काल कार्यक्रम नगर्ने निर्णय गर्यो। दुई नम्बर प्रदेश बाहेकका सबै स्थानमा साना ठूला आमसभा गरी एमाले नेताहरू भर्खरै काठमाडौं फर्किएका छन्।
यही अभियानको सन्दर्भमा हामीले एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग कुरा गरेका छौं। प्रस्तुत छ, रोहित खतिवडाले गरेको कुराकानीको सम्पादित अंश:
· मेची-महाकाली अभियानको मुख्य लक्ष्य तराईमधेसमा पार्टीको उपस्थिति सघन बनाउने थियो। तर, सप्तरी घटनापछि दुईनम्बर प्रदेशमा कुनै पनि कार्यक्रम भएन। अभियानको मुख्य उद्देश्य हासिल नभएको हो?
विगत डेढदुई वर्षदेखि तराई मधेसका जनतामा विभिन्न किसिमका भ्रम सिर्जना गरिएको छ। अत्यन्तै नकारात्मक र गलत सन्देश फैलाइएको छ। नयाँ संविधानबारे जनतामा भ्रामक प्रचार गरिएको छ। संविधानमा के छ भन्ने जान्न त्यहाँका जनतालाई दिइएको छैन। त्यहाँ सही सूचना दिनु आवश्यक थियो। त्यसैले, हामीले जनतालाई संविधानमा भएका प्रावधान, तराईमधेसका जनतालाई संविधानले दिएको अधिकार, एमालेले ल्याएको तराईमधेसको समृद्धीको खाकाबारे आम जनसमुदायलाई जानकारी गराउन एमालेले यो अभियान सञ्चालन गरेको हो।
यद्यपि यो दुई नम्बर प्रदेश लक्षित मात्रै थिएन। यो राष्ट्रव्यापी अभियान थियो। यसमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका पचहत्तरै जिल्लालाई समेटेको छ।
मुलत: नेपालको राष्ट्रिय एकतालाई बलियो पार्ने, जातिय सद्भावलाई प्रवर्द्धन गर्ने, गलत सूचनाहरूले संविधानबारे जनतामा सिर्जना गरेको भ्रम चिर्ने र स्थानीयलगायत मंसिर भित्र तीनवटै निर्वाचनका लागि सरकारलाई दबाव दिने लगायत उद्धेश्य यो अभियानको थियो। त्यसमध्ये अधिकांश उद्देश्यमा हामी सफल भयौं। निर्वाचनबाहेक अर्को विकल्प छैन भन्ने कुरा जनताले भनेका छन्। यो अभियानको मुख्य सन्देश यही हो।
दोस्रो, यो अभियानका क्रममा तराईमधेसमका जनतामा फिँजाइएको भ्रम चिर्नु थियो। आफ्नो गलत सूचनाको साम्राज्य तोडिन्छ र आफ्नाविरूद्ध विद्रोह गर्छन् भन्ने त्रासबाट राजविराजमा त्यो दुर्घटना मधेसी मोर्चाले निम्त्यायो। हामीले राजविराजमा एक लाख मान्छे उतार्ने लक्ष्य लिएका थियौं र जनकपुरसम्म आइपुग्दा त्यो संख्या दुई लाख पुग्ने थियो। त्यसैले मधेसी मोर्चालाई झण्डा बनाएर कांग्रेस र माओवादीदेखि सिके राउतदेखि ज्वालासिंहसम्मका अपराधिक समूहहरू एउटै डालोमा बसेर एमालेविरूद्ध उभिए।
यसले गर्दा हामीले हासिल गर्न सक्ने उद्देश्यमा केही कठिनाई सिर्जना गर्यो। तर हामीले अभियानको ९० प्रतिशत उद्धेश्य हासिल गरेका छौं। सरकारले निर्वाचनको मिति घोषणा गरेको छ। तराई र पहाडको सद्भाव तथा जातिय सद्भावमा बढेको छ। नेपालगञ्जकै कार्यक्रम हेर्ने हो भने हजारौं मुस्लिम आफ्नो पहिचानसहित हाम्रो कार्यक्रममा सहभागी भएका छन्। चितवन पश्चिमका प्राय:जिल्लामा झाँकीसहित थारू समुदायले एमालेलाई स्वागत गरेको छ।
यो अभियानले एमालेलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेको छ। एमालेसँग त्रसितभएर कांग्रेस-माओवादीदेखि मोर्चा र अन्य आपराधिक समूह समेत एमालेविरूद्ध एउटा डालोमा आएका छन्। म प्रश्न गर्न चाहन्छु- अब कांग्रेस-माओवादीले आपराधिक समूहलाई सुमसुम्याउने कि राजनीतिक ढंगले अगाडि बढ्ने? छुट्याउने बेला आएको छ।
· तपाईंले यो अभियानले निर्वाचनको वातावरण बनाएको दाबी गरिरहनु भएको छ। तर सप्तरी घटनाले त बन्दै गरेको स्थानीय निर्वाचनको वातावरण झन् बिगारेन र?
पहिलो कुरा त मधेसी मोर्चाका कारणले निर्वाचन नहुने हुँदैन। निर्वाचन हुँदैन भने राज्यको अनिच्छका कारण हुँदैन। कांग्रेस-माओवादीको अनिच्छाका कारण हुँदैन। म कांग्रेस-माओवादीलाई सेतोपाटी मार्फत प्रश्न गर्न चाहन्छु- तपाईंहरू साँच्चिकै चुनाव चाहनुहुन्छ? यदी चाहनुहुन्छ भने जनकपुरमा एमाले कांग्रेस र माओवादी मिलेर एउटा सभा गरौं र निर्वाचनका निम्ति अपिल गरौं।
एमाले त एक्लै पनि जान्छ-जान्छ। एमालेले छोड्दैन। दुई नम्बर प्रदेश हामी कसैलाई पनि सुम्पिँदैनौं। मधेसी मोर्चा र मधेसी जनता अलगअलग हुन्। मधेसी जनतासँग एमालेको घनिष्ठ सम्बन्ध छ। मधेसी मोर्चासँग हाम्रो प्रतिद्वन्द्वीता छ।
मधेसी मोर्चा र अपराधिक समूहहरू पनि अब छुट्टिनु जरूरी छ। नछुट्टिने हो भने आफूलाई घोषणा गरेर अगाडि आउनुपर्छ। तल मोर्चा, आपराधिक समूह वा कांग्रेस-माओवादी भन्ने नै छैन। म यो अभियानको तयारीका क्रममा धेरैपटक सप्तरी, सिराहा र धनुषा पुगेको छ। त्यहाँ मधेसी मोर्चाका नाममा जे गतिविधि भइरहेको छ, त्यसको डिजाइनर अपराधिक समूहका मान्छेले गरिररहेका छन्। अपराधिक समूहका मान्छेले जिल्लास्तरको मोर्चाको बैठकमा गएर जे भन्यो त्यही पास हुन्छ। नभए मोर्चाकै मान्छे पनि त्यहाँ बस्न सक्ने अवस्था छैन। आफूलाई राजनीतिक प्राणी भन्ने उपेन्द्र यादव, महन्थ ठाकुरलगायतले सिके राउत र आफूमा भिन्नता छ कि छैन भन्ने छुट्याउनले बेला आएको छ।
जहाँसम्म दुई नम्बर प्रदेशको प्रश्न छ- हामीले हाम्रो कार्यक्रमको मोडालिटी परिवर्तन गरेका छौं। अब फेरि हामी त्यहाँ जान्छौं। अब हामी ८ वटा जिल्लाजिल्लामा आमसभा गर्छौं। र स्थानीय तहको निर्वाचन अगाडि जनकपुरको बाह्रविगाहामा ८ लाख मान्छे उतार्छौं। त्यहाँ पनि निर्वाचन हुन्छ र हुनुपर्छ।
· यो अभियान सुरु हुनु अगाडि मधेसका केही नेताहरूलाई एमालेले केन्द्रीय समितिमा मनोनयन गर्यो। यसले मधेसका सन्दर्भमा एमालेको दृष्टिकोणमा परिवर्तनको आवश्यकता स्वीकारेको सन्देश दिन खोजेको हो?
राजविराज घटनाको सन्दर्भमा एमालेको दृष्टिकोण वा नेताहरूको अभिव्यक्तिलाई जोडेर कुनै बुद्धिजीवीले यो एमालेको कमजोरी हो भन्छ भने त्यो बुद्धिजीवी नै होइन। त्यो त कुबुद्धिजीवी हो। उनीहरूले पहिले भन्नुपर्यो, यो देशमा शान्तिपूर्ण सभा गर्ने अधिकार कुनै व्यक्तिलाई कुनै पार्टीलाई छ कि छैन? अहिंसात्मक राजनीति गर्ने हक अधिकार संविधान प्रदत्त छ र हामीले छ दशकभन्दा लामो लडाईंबाट ल्याएका हौं। पार्टी खोल्ने स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता,विचारको संरक्षण गर्ने स्वतन्त्रता, बहुलवादी समाजको स्वतन्त्रता यो मुलुकमा छ। एमालेलाई पनि यो स्वतन्त्रता छ। यी हक अधिकारको प्रयोग गर्ने स्वतन्त्रता एमालेलाई सधैंभरी छ। भोलि कुनै पनि पत्रकार वा बुद्धिजीवीलाई केही लेखेकै नाममा कसैले आक्रमण गर्यो भने त्यतिबेला उनीहरूको स्वतन्त्रता प्यारो हुन्छ कि हुँदैन? एमालेलाई आफ्नो स्वतन्त्रता त्यति नै प्यारो छ।
त्यसैले म बुद्धिजीवी/बौद्धिकलाई भन्न चाहन्छु कि पहिला अभिव्यक्ति स्वतन्त्रताबारे बोलून्। अनि एमालेका नीति, एजेण्डा र अभिव्यक्तिका कमीकमजोरीबारे कुरा गर्ने हो। हामी त्यो विषयमा बहस गर्न खुला छौं। तर गलत र सहीलाई एउटै तराजुमा राखेर बराबर भयो भन्नु भएन। एमालेको अभिव्यक्ति मधेसविरोधी भयो भने त्यही ठाउँमा एक लाखको सट्टा दुई लाख मान्छे उतारेर एमालेको भण्डाफोर गर्न सुझाव दिनुपर्यो बुद्धिजीवीले। हिंसात्मक गतिविधिका लागि त प्रेरित गर्नु भएन नि। त्यो त फाँसीवाद हो। फाँसीवादले आज एमालेलाई असर गर्ला तर भोलि कसैलाई पनि छोड्दैन।
· एमालेका नेताहरूले मधेसको विषयमा दिएको अभिव्यक्तिबारे पनि प्रश्नहरू उठ्ने गरेका छन्।
एमालेका कमजोरी छन् भने हामीले त्यसलाई स्वीकार गर्नु पर्छ। जनताका तहबाट आएका सुझावहरू ग्रहण गरेर आफूलाई परिवर्तन गर्नु पर्छ। समावेशीताको दृष्टिकोणबाट हेर्ने हो भने एमालेको केन्द्रीय समितिमा मधेसी समुदायको प्रतिनिधित्व बढ्दै गएको छ। आवश्यकता पर्यो भने हामी पदाधिकारीमै पनि आरक्षणको व्यवस्था गर्ने नीतिबारे पनि छलफल गर्नसक्छौं।
अनि हाम्रो पार्टीमा समावेशी भएन वा मधेसी भएन भनेर किन ढुंगा हान्ने? एमालेमा मधेसी भएन, जनजाति भएन वा बाहुनक्षेत्री भएन भने त्यसको फाइदा अर्कोले लिए भयो नि। एमालेको कमजोरी यो हो भनेर भण्डाफोर गरे भइगो नि। एमालेलाई किन ढुंगा हान्ने? हाम्रो पार्टीलाई ढुंगा हान्ने?
यद्यपि हाम्रो पार्टी यी कुरामा गम्भिर छ। संसदमा हाम्रो पार्टीले चालिसभन्दा धेरै मधेसी सांसद पठाएको छ। मुस्लिम महिलालाई टिकट दिएर जिताउने एउटै मात्रै पार्टी एमाले हो। एमाले नै हो जसले दुवै संविधासभामा बढी दलितको प्रतिनिधित्व सुनिश्चित गर्यो– पहाड र मधेसका दुवै दलितको। अमेरिकामा ४५अौ राष्ट्रपति निर्वाचित हुँदा सम्भव नभएको महिला राष्ट्रपति यो देशमा एमालेले बनायो।प्रमुख निर्वाच आयुक्त अयोधिप्रसाद यादव हुनुहुन्छ। राज्य समावेशी भएन भन्ने मधेसो मोर्चाले उहाँको घरमा ढुंगा हान्न मिल्छ? एमालेको रिस लगेर अयोधिप्रसादलाई पोख्ने?
· मेची-महाकाली अभियान पछि अब एमालेको योजना के छ?
सरकारले वैशाख ३१का लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ। हामीले सरकारको यो कदमलाई पहिल्यै स्वागत गरिसकेका छौं। स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ। अभियानको अन्तिम दिन सुर्खेतमा बसेको स्थायी कमिटी बैठकले अब एमाले पुरै स्थानीय निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको छ। हामीले मातहत कमिटीलाई नयाँ संरचनाअनुसार व्यवस्थित गर्न निर्देशन दिइसकेका छौं। एक साताभित्र हाम्रा सबै कमिटीहरू गाउँपालिका-नगरपालिकाको नयाँ संरचनामा बदलिइसक्ने छन्। र हामी निर्वाचनको तयारीमा केन्द्रीत हुने छौं।