प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार चक्रपाणि खनाल (बलदेव) ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन्।
नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग वाइसिएल म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका छन्।
आगामी वैशाख ३१ गते सरकारले स्थानीय तह निर्वाचन गराएरै छाड्ने उद्घोष गर्दै उनले निर्वाचनपछि जनताको घरदैलोमा सरकारी सेवा सुविधा पुग्ने धारणा राखे। “सङ्घीयतामार्फत जिल्ला सदरमुकाममा केन्द्रित सेवा सुविधा अब गाउँपालिका र नगरपालिकामार्फत जनताको पहुँचमा पुग्दैछ, अब सेवा सुविधा मात्रै होइन आफ्नो गाउँठाउँको बजेट कसरी निर्माण गर्ने र विकास कसरी गर्ने भन्ने कुरा जनताकै हातमा हुन्छ”– उनले भने।
उनले माओवादीको जनयुद्ध र जनआन्दोलनको जगबाट मुलुकमा सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताजस्ता मुद्दा स्थापित भएको बताउँदै ती मुद्दालाई संस्थागत गर्न स्थानीय तहको चुनाव अपरिहार्य रहेकोमा जोड दिए। उनले मधेसमा देखिएको समस्यालाई सरकारले राजनीतिक रुपमै हल गर्ने प्रयास गरेको बताउँदै चुनाव कसैले चाहेर नरोकिने बताए।
उनले प्रधानमन्त्री दाहालले हिमाल, पहाड र तराईलाई जोड्ने गरी ठूलो परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत गर्न लागिपरेको धारणा राखे। तत्कालीन माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहनुभएका खनालले जनताको अधिकार स्थापित गर्न माओवादीले जनयुद्ध गरेको स्मरण गर्दै नयाँ संविधानको कार्यान्वयन हुन सकेमा मात्रै माओवादी आन्दोलन र जनयुद्धको लक्ष्य पूरा हुने बताए।
वाइसिएल म्याग्दीको नयाँ नेतृत्व चयनः
यसैबीच, नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)को सोमबार बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट भोजबहादुर थापाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित भएको छ।
पैँतीस सदस्यीय कमिटीको उपाध्यक्षमा नगेन्द्र केसी, दोरण शेरचन, सविन रोका, खुम पुन र ईन्द्र थापा रहेका छन्। सचिवमा सन्दिप खत्री, सहसचिवमा गीता पुन, कोषाध्यक्षमा बालकृष्ण पुर्जा, लेखा संयोजकमा यादव सुवेदी र अनुशासन संयोजकमा सुरवीर पुन रहेका छन्। रासस