नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादसम्बन्धी सुनुवाईमा आज डीआइजी जयबहादुर चन्द पक्षका वकिलहरु अदालतमा उपस्थित भएनन्। सरकारका तर्फबाट वकिलहरुले बिहान बहस गरेपनि चन्द पक्षका व्यक्तिगत वकिलहरु भने बहसमा आएनन्। अदालतले उनीहरु आइनपुगेपछि तोकिएको समयभन्दा थप ५ मिनेट समय दिएको थियो।
तर, चन्द पक्षका वकिल उक्त समय भित्र पनि नआएपछि सिलवाल पक्षका वकिलले जवाफी बहस सुरु गरेका छन्।
चन्द नियुक्त हुने नहुनेबारे आज फैसला हुने सम्भावना छ।
सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो।
अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो। सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।