उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दिल्ली भ्रमणका क्रममा गरेका भेटवार्ताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन्।
शुक्रबार राति काठमाडौ फर्किए लगत्तै शनिबार प्रधानमन्त्री दाहाल र आफ्नो पार्टी सभापति देउवालाई बेग्लाबेग्लै भेटेर नयाँ दिल्ली बसाइका क्रममा भारतीय सरकारी अधिकारी र त्यहाँका विभिन्न राजनीतिक दलका नेतासँग भएका दुई देशबीचको आपसी सम्बन्ध सुधारबारे गम्भीर वार्ता गरेको जानकारी गराएका थिए।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँगको भेटपछि सेतोपाटीसँग कुरा गर्दै निधिले भने, ‘भारतीय सरकारका उच्च अधिकारी र राजनीतिक नेतासँग समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउनुका साथै दुई देशबीचको आपसी सम्बन्धलाई मजबूद बनाउँने विषयमा सकरात्मक छलफल गरेँ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित दोबलसँगको भेटवार्ताका क्रममा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले कन्चनपुरको सीमा क्षेत्रमा चलाएको गोली लागि मृत्यु भएका गोविन्द गौतमको विषय स्पष्ट रूपमा राखेको बताए।
प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारलाई कन्चनपुर घटनाको फरेन्सीक रिर्पोटमा गोलीको परीक्षणमा गौतमको शरीरबाट प्राप्त ५.५६ एमएम क्यालिभरको गोली नेपाली सुरक्षाकर्मीसँग नभएको र उक्त गोली भारतीय सुरक्षा बलकै अध्याधुनिक हतियारबाट चलाएको प्रतिवेदन बुझाएका थिए।
उक्त घटनामा भारतले माफी (रिग्रेट) माग्न, दोषी उपर कानुनी कारबाही चलाउन र भविश्यमा यस्तो घटना नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्न पनि निधिले माग गरेका थिए।
निधिसँगको भेटवार्ताका क्रममा गृहमन्त्री राजनाथ सिंहले उक्त घटनाबारे आफूलाई अफसोच (पश्चाताप/दुःख) लागेको भन्दै भारतले पनि यस घटनाको अनुसन्धान गरी कारबाही अघि बढाउने आश्वासन दिएको निधिले बताए।
त्यसैगरी नेपाल भारत सीमा विवाद समाधानका लागि दुई देशको संयुक्त कार्यदलले अहिले तीन समूह बनाएर काम गरिरहेको भए पनि त्यसलाई चाडो टुंगो लगाउन अरू दुई वटा समूह थप गरी सीमा निर्धारण कार्य टुंग्याउनुपर्ने धारणा राखेका थिए।
कार्यदलमा नेपालको नापी विभाग अन्तर्गतबाट टोलीले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सीमा निर्धारण र पिलर राख्ने काम गरिरहे पनि भारतीय कार्यदलबाट नापी विभागले सीमा निर्धारण गर्ने र एसएसबीले पिलर राख्ने काम गर्दा समन्वयको अभाव देखिएको भन्दै यसबारे भारतीय पक्षको ध्यानाकर्षण गराएका थिए।
नेपालले संविधान कार्यान्वयनको क्रममा गर्न लागेको तीन तहको निर्वाचनमा आवश्यक सवारी साधन तथा बन्दोवस्तीका सामाग्री विगतको निर्वाचनमा जस्तै उपलब्ध गराइ सहयोग गर्न पनि निधिले भारतीय प्रधानमन्त्री, गृहमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेका थिए।
पछिल्लो समय संविधानमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार र राजनीतिक दलहरुले संशोधनको प्रयास तथा आगामी माघ ७ भित्र गर्न लागेको तीन तहको निर्वाचनबारे सराहना गरेको पनि उनले बताए।
प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँगको भेटवार्तामा निधिले विगतमा भएको विकास आयोजना सम्बन्धी सम्झौता अनुसार हुलाकी राजमार्ग निर्माणलाई गति दिन र अन्य विकास आयोजनामा थप सहयोग गर्न आग्रह गरेका थिए।
त्यसैगरी भारतीय यातयात मन्त्री सुरेश प्रभुको प्रस्ताव अनुसार काठमाडौं दिल्ली र काठमाडौं कोलकता यातायात सञ्चालन, दुई देशबीचको व्यापार घाटा न्यूनिकरणबारे पनि सकारात्मक कुराकानी भएको निधिले बताए।
इन्डिया फाउन्डेसनको आयोजनामा प्रति आतंकबादबारे अन्तर्राष्ट्रिय सम्मेलनमा मन्त्री निधिले प्रमुख बक्ताको रुपमा आफ्नो धारणा राखेका थिए।