सरकारले बिभिन्न १२ देशका लागि सिफारीस गरेका राजदूत मध्ये तीन जनामाथि संसदीय विशेष सुनुवाई समितिमा उजुरी परेको छ। उजुरी पर्नेहरुमा ओमानका लागि प्रस्तावीत राजदूत शर्मिला पराजुली, इजरायलका लागि प्रस्थावित राजदूत निरञ्जन थापा र कतारका लागि प्रस्तावित राजदूत रमेश कोइराला छन्। अहिलेसम्म पराजुलीलाई तीन, कोइरालालाई दुई र थापालाई एउटा उजुरी परेको छ।
थापालाई मल्लिक आयोगले कारबाही गर्न सिफारिस गरेको ब्यक्ति राजदूत भएको भन्दै उजुरी गरिएको छ। उजुरीमा थापा राष्ट्रिय पञ्चायतको सदस्य रहँदा आफ्नी श्रीमतीलाई जागिर लगाएकोसमेत लेखिएको छ।
पराजुली र कोइराला म्यानपावर व्यवसायी हरेको र उनीहरूले नेपालीलाई विदेश पठाएर बिचल्ली पारेको भन्दै यस्ता म्यानपावर व्यवशायीलाई राजदूत बनाउन नहुने उजुरीमा उल्लेख गरिएको छ।
त्यस्तै पराजुली र कोइरालालाई सुरक्षित आप्रवास सम्बन्धी काम गर्ने एक गैर सरकारी संस्थालेसमेत उजुरी दर्ता गराएको छ। पराजुलीका श्रीमानको नाममा दर्ता रहेको फ्लोरिड हुमेन रिसोर्सेसका नाममा श्रम विभागमा २४ उजुरी रहेको विवरण उजुरीकर्ताले पेश गरेको छ।
फोरम लोकतान्तिकको सिफारिसमा खाडी मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुलीलाई ओली सरकारले पनि यही देशका लागि राजदूत बनाउन खोजेको थियो।
वैदेशिक रोजगार व्यवसायीको प्रत्यक्ष स्वार्थ जोडिने मुलुक ओमानका लागि राजदूत नियुक्त पराजुली आफैं म्यानपावर कम्पनीसँग सम्बन्धित छन्। उनका श्रीमान् फ्लोरिड रिसोर्स सोलुसनका सञ्चालक हुन् भने जेठाजू कमल ढकाल सोही म्यानपावरमा आबद्ध छन्।
खाडीका विभिन्न कम्पनीलाई कामदार आपूर्ति गर्ने बिएसडी ह्युमन रिसोर्स सोलुसन, रोयल डाइमन्ड रिक्रुटमेन्टसमेतमा पराजुलीको परिवार संलग्न छ। रोयलले युएई लगायत खाडीका अन्य मुलुकमा कामदार आपूर्ति गर्ने गरेको छ।
वैदेशिक रोजगारमा जाने नेपालीहरू धेरैजसोको गुनासो ’म्यानपावर कम्पनीबाट पीडित भएँ’ भन्ने छ। वैदेशिक रोजगारीमा रहँदा सम्झौताअनुसार काम र पारिश्रमिक नपाए वा पीरमर्का परे जुन म्यानपावरबाट गएको हो त्यसैले चासो नराख्ने गुनासो सर्वत्र छ। यस्तोमा म्यानपावर व्यवसायसँग नै जोडिएका व्यक्तिलाई राजदूत बनाउँदा स्वार्थ बाझिन सक्ने सरोकारवालाहरूको भनाइ छ।
पराजुलीले भने यसअघिनै पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार व्यवसायमा आफू संलग्न नरहेको दाबी गरेकी छन्। नौ महिनाअघि सरकारले राजदूत सिफारिस गरेपछि हाल आफू त्यो व्यवसायमा नरहेको उनको जिकिर थियो।
अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पा, दक्षिण कोरियाका लागि अर्जुन जंगबहादुर सिंह, जापानका लागि प्रतिभा राणा, डेनमार्ककका लागि युवनाथ लम्साल, बंगलादेशका लागि चोपलाल भुसाल, बहराइनका लागि पदम सुन्दास, म्यानमारका लागि भीमकृष्ण उदास, श्रीलंकाको लागि विश्वम्भर प्याकुरेल र साउदी अरेवियाका लागि महेन्द्रप्रसाद सिंह राजपूतलाई अहिलेसम्म कुनै उजुरी नपरेको सुनुवाई समितिले सेतोपाटीलाई जानकारी दिएको छ।
संसदीय सुनुवाई विशेष समितिले उजुरीकर्तासँग कुरा गरेपछि प्रस्तावित राजदूतसँग छलफल गर्नेछ। उनीहरुसँगको छलफलपछि राजदूतको नाम अनुमोदन हुन्छ। सरकारले गरेको राजदूतको सिफारिस खारेज गर्न कम्तिमा दुई तिहाई बहुमत जरूरी पर्छ। पन्ध्र सदस्य रहने समितिमा अहिले चौध जना सांसद रहेका छन्।