स्थानीय निर्वाचनका लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबार सुरु हुने भएको छ। छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसपटकको निर्वाचनमा १ करोड ६० लाख प्रति मतपत्र छाप्नुपर्ने हुन्छ। एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए।
'छपाइमा बिग्रिने तथा खेर जानेसमेत जोडेर १५ प्रतिशत धेरै छाप्ने प्रचलन छ,' प्रवक्ता शर्माले भने, 'एक करोड ४० लाख मतदाता हुने भएकाले १ करोड ६० लाख जति मतपत्र छाप्नुपर्ने हुन्छ।'
मतदाता नामावली 'फाइनल' नभइसकेकाले मतदाताको संख्या यकिन भने भइसकेको छैन। एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने आयोगको अनुमान छ। यति कागज आफूसँग स्टकमा रहेकाले कागजका लागि चिन्ता नभएको केन्द्रका निर्देशक पोख्रेलले बताए।
यसपटक आधा फिटदेखि तीन फिटसम्म लम्बाइ हुने विभिन्न प्रकारका मतपत्र चाहिने छ। दलहरूको संख्याका आधारमा जिल्लाहरूलाई अहिले ६ किसिमका मतपत्र छाप्ने तयरी भइरहेको आयोगका प्रवक्ता शर्माले बताएका छन्।
सबैभन्दा कम दल दर्ता भएको मनाङका लागि सबैभन्दा छोटो मतपत्र छापिने छ भने सबैभन्दा धेरै दल दर्ता भएको काठमाडौंका लागि सबैभन्दा लामो मतपत्र बन्ने छ।
एउटा समूहमा परेका जिल्लामा एकै प्रकारको मतपत्र पठाउने आयोगको तयारी छ। त्यसैले, यसपालिको चुनावमा कतिपय गाउँपालिका वा नगरपालिकामा उम्मेदवार नभए पनि चुनाव चिन्ह हुनसक्ने आयोगका प्रवक्ता शर्मा बताउँछन्।
दलको संख्याका आधारमा जिल्लाहरूको समूह बनाएर मतपत्र पठाउने हुँदा केही स्थानमा उम्मेदवार नभए पनि मतपत्रमा चुनाव चिन्ह भने हुनसक्ने उनले बताए। यी विभिन्न प्रकारका एक करोड ६० लाख प्रति मतपत्र छाप्न करिब ४५ दिने लाग्ने आयोगको अनुमान छ।
मतपत्र छपाइका लागि चाहिने मसी पनि जनक शिक्षाले नै खरिद गरेको छ। मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने छ।