सरकारले स्थानीय तह पुर्न संरचना गरे अनुसार महोत्तरीमा तोकिएको स्थानीय तह अन्तर्गत ३ नगरपालिका र १२ गाउँपालिका कार्यान्वयन तर्फ अगाडि बढाए सँगै ७ वटा गाउँपालिकामा विरोध भएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीका कार्यक्रम अधिकृत बालविर ठाकुरका अनुसार पिपरा, मटिहानी, महोत्तरी, भंगहा, लोहारपटि गाउँपालिका पूर्ण रुपमा सञ्चालनमा आएका छन्।
महोत्तरीमा तोकिएको १२ गाउँपालिका मध्ये पिपरागाउँपालिका , मटिहानी गाउँपालिका, महोत्तरी गाउँपालिका, भंगहा गाउँपालिका र लोहारपट्टि गाउँपालिमा साईन वोर्ड भुण्डयाएर काम सूचारू भए पनि बाँकी ७ वटा गाउँपालिमा स्थानीय वासिन्दा र मधेसी मोर्चाका नेताहरुले विरोध गरेपछि काम अवरुद्ध भएको छ।
बलवा गाउँपालिकामा स्थानियहरुले गाउँपालिका उल्लेखित साईनवोर्ड झुण्डयाउन अवरोध गरेका छन् भने सोनमा गाउँपालिकाम स्थानीयले वोर्ड झुण्डयाउन नदिएपछि सोही गाउँपालिका अन्तर्गत पर्ने रघुनाथपुरस्थित प्रहरी चौकीमा गाउँ पालिकाको वोर्ड लगेर थन्काइएको छ।
त्यसैगरी औरही गाउँपालिका, एकडारा गाउँपालिका सम्सी गाउँपालिकामा पनि स्थानीय वासिन्दा र मधेसी मोर्चाका कार्यकर्ताले गाउँपालिकाको वोर्ड झुण्ड्याउन दिएका छैनन्।
रामगोपालपुर गाउँपालिमा स्थानीय वासिन्दा र मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेपछि कामकाज शुरू हुन नसकेको स्थानीय वासिले सेतोपाटीलाई जानकारी दिएका छन्।
अवरोध र तालाबन्दीका कारण गाउँपालिकाको काम प्रभावित भएको छ। मोर्चाका कार्यकर्ताले गाउँपालिकाको साइनबोर्ड तोडफोडसमेत गरेका छन्।
स्थानीय तहमा कर्मचारी खटाईयो
महोत्तरीमा तोकिएको १२ गाउँपालिकामा अधिकृत तोकेर काममा खटाइसकेको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ।
रामगोपालपुर गाउँपालिकामा मोहनकुमार भगत, मटिहानी गाउँपालिकामा राजेशकुमार शर्मा, सम्सी गाउँपालिकामा असर्फि साह, औरही गाउँपालिकामा रामएकवाल यादव, लोहारपटी गाउँपालिकामा रामविनय पाण्डेयलाई जिम्मेवारी तोकेर काममा खटाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ।
त्यस्तैगरी सोनमा गाउँपालिकामा रामएकवाल साह, पिपरा गाउँपालिकामा विनय कर्ण, मनरा गाउँ पालिकामा लक्ष्मी नारायण ठाकुर, महोत्तरी गाउँपालिकामा रंजितकुमार पाण्डे, एकडारा गाउँपालिकामा मोहनकुमार चौधरी, बलवा गाउँ पालिकामा खुसीराम यादव, भंगहा गाउँपालिकामा रामतेज भण्डारीलाई जिम्मेवारी दिएर पठाइएको जनाइएको छ।
ठाउँ ठाउँमा विरोध प्रर्दशन
स्थानीय निकाय पुर्नसंरचना अव्यवहारिक भएको भन्दै महोत्तरीमा बिरोध भएको छ।
स्थानीय निकाय पुर्नसंरचना गर्ने क्रममा स्थानीयवासीलाई सहज र सर्वसुलभ सेवा सुविधाको बाँडफाँट र प्रभावकारितालाई ख्याल गरेर संरचना गर्नुपर्ने मुल आधारलाई लत्याउँदै गाउँपालिका र नगरपालिकाको सीमा तोकेर साविकको गाविसहरुको वडालाई तोडमडोड गरिएको, सँगै टासिएको नजिककै गाउँलाई एकै गाउँपालिकामा राख्नुको साटो पहुँचको आधारमा नजिक र टाढाको गाउँपालिकामा गाभिएको, पाँच हजार जनसंख्यामा एक वडा कायम गर्नुपर्नेमा त्यसो नगरिएको र हचुवाको भरमा स्थानीय तह पुर्न संरचना गरिएकोले ठाउँ ठाउँमा स्थानीय निकाय पुर्न संरचनाको विरुद्ध आवाज उठेको हो।
महोत्तरी जिल्लामा स्थानीय पुर्नसंरचना गर्दासँगै टासिएको नजिकको गाउँपालिकामा एकअर्का साविकका गाविसलाई समावेस नगरी व्यक्ति विशेषको निहित स्वार्थ पुर्ति गर्ने र हठधर्मिता पुरा गर्ने मनसायले संरचना गरिएकोले जिल्ला भरिनै स्थानीय निकाय पुर्नसंरचना बारे नकारात्मक टिकाटिप्पणी शुरू भएको हो ।
यसैक्रममा सरपल्लोका स्थानीय वासिन्दाले स्थानिय पुर्नसंरचना विरुद्ध आन्दोलन नै थालेका छन।
साविकको सरसपल्लो गाविस हालको बलवागाउँपालिका सँगै टासिएको भए पनि आफनो गाउँलाई बलवा गाउँपालिकामा नराखी पाँच किलोमिटर टाढाको मनरा गाउँपालिकामा राखिएको विरोधमा सरपल्लोको स्थानीयले जलेश्वरमा विरोध प्रर्दशन गर्दै आन्दोलित भएका हुन्।
सरपल्लो गाउँका स्थानीयहरुले स्थानीय तह संरचना सर्घष समिति गठन समितिको नेतृत्वमा सयौंको संख्यामा सदरमुकाम जलेश्वर पुगेर अव्यवहारिक संरचनाको विरोध जनाएका हुन्।
उनीहरुले विरोध प्रर्दशन पश्चात जिल्ला प्रशासन कार्याल महोत्तरी पुगेर आफनो माग उल्लेखित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवलाई हस्तान्तरण गरेका छन्।
ज्ञापन पत्रमा सरपल्लोवासीले स्थानीय तहबाट सिफारिस भए अनुसार तथ्यगत आधार र सहज पहुँचलाई आत्मसाथ गर्दै सिफारिस अनुसार संगै टाँसिएकै बलवा गाउँ पालिकामा गाभिनुगर्नु पर्ने माग गरेका छन्।
यस्तै गौशाला नगरपालिकाको वडा विभाजन गर्ने क्रममा पुरानो संरचनालाई तोडमडोड गरि नयाँ संरचना बनाईएको विरोधमा स्थानीय राजनीतिक दलका नेताहरुले गौशाला नगरपालिकाको कार्यालयमा तालावन्दी गरेका छन्।
नेपाल सरकार स्थानीय पुर्नसंरचना आयोगद्वारा घोषित गौशाला नगरपालिकाको साविकको वडाहरुलाई भत्ताभुंग पारेर हाल चार वटा गाविसहरुलाई समावेश गरेर पनि १२ वटा वडा मात्र कायम गरेकोले स्थानीय राजनीतिक दलले त्यसको विरोध जनाएका छन् ।
गौशालका स्थानीयले गौशाला नगरपालिकाको पुरानो वडाहरुलाई पुरानै संरचनामा कायम गरि थपिएका चार वटा गाविसहरुलाई समावेशी र समानुपातिक हिसावले वडा नं. १२ देखि १९ सम्म कायम गर्नुपर्ने माग गर्दै गौशाला नगरपालिका कार्यालयमा अनिश्चितकालका लागि तालावन्दी गरेका छन्।
कार्यालयमा तालावन्दी हुँदा कामकाज पूर्णरूपमा ठप्प भएको छ।
संरचनाबारे पुर्नविचार नगरुञ्जेल तालाबन्दी जारि राखिने गौशाला नगरस्तरीय समितिको संयोजक विरेन्द्र चौधरीले बताए।
यता मटिहानी गाउँपालिकाको नामाकरण मटिहानीबाटै शुरु भए पनि भौतिक संरचनाको हिसावले पनि उक्त गाउँपालिकाको केन्द्र मटिहानी नै हुनुपर्ने भए पनि उक्त गाउँपालिकाको केन्द्र धिरापुर तोकिएकाले मटिहानीवासीले विरोध जनाएको छ ।
स्थानिय राजनीतिकर्मी सुरेस पाण्डेका अनुसार अहिले जिल्लामा गरिएको स्थानीय तह पुर्नसंरचना केही ठाउँका लागि पूर्ण रुपमै अव्यवहारीक देखिएकाले ती ठाउँको पुर्नसंरचना बारे तत्काल पुर्नविचार गर्नु पर्ने आवश्यक देखिन्छ ।
समयमै नेपाल सरकारले पुर्नसंरचना वारे जिल्ला भरि उठन थालेको विरोधको आवाजलाई सम्बोधन गर्न गम्भीर नभए यसको विरोध जिल्ला भरि नै हुन वेर नलाग्ने तर्क राजनीतिकर्मी पाण्डेको रहेको छ।
महोत्तरीमा स्थानिय निकाय पुर्नसंरचना अन्र्तगत ३ नगरपालिका र १२ गाउँपालिकाको संरचना तोकिएको छ ।
छाप र बोर्डमा असन्तुष्ट
परिवर्तित संरचनामा नेपाल सरकार हटाएकोमा पर्वतका नागरिक समाज, राजनीतिक दल र कर्मचारीहरूले नै असन्तुष्टि जनाएका छन्।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबारदेखि मुलुकभर कार्यान्वयनमा आउने जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका बोर्ड, छाप र लेटरप्याडलाई बदलेर नेपाल सरकार हटाउन निर्देशनसहितको पत्र पठाएको छ।
साबिकमा लेटरप्याड र छापको सिरानमा नेपाल सरकार र सम्बन्धित मन्त्रालय लेखिएको हुन्थ्यो। परिवर्तित बोर्ड, छाप र लेटर प्याडमा सरकार, सम्बन्धित मन्त्रालय नै हटेर सम्बन्धित जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका मात्रैको व्यवस्था गर्ने कारणबारे सबै सरोकारवाला अनभिज्ञ छन्।