सरकारले एक महिनाअघि डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरेको नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतले फेरि सारेको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको छ। ६ गते भने पूर्ण इजलासमा राख्ने आदेश गरेको उक्त इजलासले बढुवा गर्दाको मूल्याङन फाइल पनि पठाउन सरकारलाई आदेश गरेको छ।
विहिबारलाई तोकिएको अन्तिम सुनुवाइ न्यायाधीश खतिवडा र केसीको इजलासमा परेपछि विपक्षी चन्दका वकिलले न्यायाधीश केसीले यो मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए। चन्दका वकिल सुशील पन्तले, चन्दको बढुवा यथास्थानमा राख्न गरिएको आदेशलाई निरन्तरता दिने आदेश गरेका न्यायाधीश केसीले यो मुद्दामा सुनुवाई गर्न नमिल्ने जिकिर गरेका थिए।
रिट निवेदक नवराज सिलवाल पक्षका वकिलले भने उनले यो मुद्दा हेर्न मिल्ने तर्क गरेका थिए।
न्यायाधीश खतिवडाले यो मुद्दा न्यायाधीश केसीले हेर्न कानुनी अड्चन नभए पनि मुल्याङ्कन फाइल झिकाउने आदेश दिएर पेशी सार्न आदेश दिएका थिए। उनले यस्तो आदेश दिएपछि अन्तिम बहस अघि बढेन।
सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए।
रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन्।
यो रिटका दुवैपक्षको बहस सुनेर पनि न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासले यथास्थानमा राख्ने निणर्यलाई निरन्तरता दिँदै अन्तिम सुनुवाई आजलाई तोकेको थियो।