प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले निर्धारित समयमा निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन्।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा खनालले मुलुक निर्वाचनतर्फ अगाडी बढेकाले निर्वाचन गर्नबाट कसैले पनि रोक्न नसक्ने बताए। स्थानीय तहको निर्वाचन भएपछि अरु निकायको पनि निर्वाचन हुने उहाँले विश्वास व्यक्त गरे।
“सरकार जस्तोसुकै चुनौतीको सामना गरेर पनि निर्धारित समयमा निर्वाचन गराउन प्रतिबद्ध छ,” उनले भने– “मधेसी मोर्चाले चाहेर पनि निर्वाचन बिथोल्न सक्दैन, वैशाख ३१ गते नै निर्वाचन हुन्छ ।”
नेकपा एमालेका नेता डा वंशीधर मिश्रले संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नरहेको भए पनि त्यसलाई प्रक्रियामा लैजान आफ्नो पार्टी लचिलो हुने बताए। प्रक्रियाबाट आएको परिणामलाई मधेसी मोर्चाले स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । मधेसी मोर्चाले निर्वाचनमा भाग लिएर अत्यधिक मत ल्याई आफ्नो हैसियत पुष्टी गर्नुपर्ने उनले बताए।
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले विगत १९ वर्षदेखि हुन नसकेको निर्वाचन अब कुनै पनि बहानामा रोक्न नहुने विचार व्यक्त गरे। मधेसी मोर्चाले भाग नलिए पनि निर्वाचन भएरै छाड्ने उनको भनाइ थियो ।
संयुक्त मधेसी मोर्चाका नेता मनिष सुमनले यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भए पनि मोर्चा निर्वाचनमा सहभागी नहुने र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा गृहकार्य भइरहेको बताए।