फाइल फोटो
पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधानसभाबाट संविधान जारी भएको १८ महिना बितिसक्दा जहाँको त्यही रहनु दुःखद् कुरा भएको बताएका छन्। उनले लोकतन्त्रका प्राण भनेका प्रक्रिया र विधि हुन्, यसलाई कुनै एक दलले मेरो गोरुको बाह्रै टक्का भनी अड्काउने काम गर्नु नहुने विचार राख्दै अब असन्तुष्ट पक्षका माग सम्बोधन गरी निर्वाचनमा जानुको अर्को विकल्प नभएको बताए।
महेन्द्रनारायण निधिको ९५ औं जन्मजयन्तीका अवसरका आयोजित कार्यक्रममा उनले भने “हिमाल, पहाड र तराईलाई जोड्न सक्ने तन्तु नै असली राष्ट्रवाद हो ।” आफू काँग्रेसको कुल र मूलबाट प्रथम राष्ट्रपति हुने सौभाग्य पाउनु गौरव लागेको स्मरण गर्दै उहाँले जटिल र कठिन मोडमा आफ्नो भूमिकालाई निर्वाह गरेको बताए।
सो अवसरमा पूर्व राष्ट्रपति डा यादवले महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा स्थापित यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार वरिष्ठ पत्रकार पन्नालाल गुप्ता (बाँके) र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा देवेन्द्रप्रसाद उपाध्याय (चितवन)लाई संयुक्त रुपमा प्रदान गरे।
सो पुरस्कारमा एक लाख एक हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ। रासस