कार्यान्वयनमा आइसकेको शंखरापुर नगरपालिकालाई यथावत राख्न माग गर्दै स्थानीय बासिन्दाले अनशन सुरु गरेका छन्। स्थानीय तह/निकाय पुनर्संरचना आयोगले शंखरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा गाभ्न सिफारिस गरेपछि आन्दोलन गर्दैै आएका स्थानीय बासिन्दाले रत्नपार्कस्थित गणेशमान शान्ति बाटिकामा शुक्रबारदेखि रिले अनशन सुरु गरेका हुन्।
जिल्ला विकास समितिले राजनीतिक दलको सहमतिमा काठमाडौंमा ११ वटा स्थानीय तह बनाउन सिफारिस गरे पनि पुनर्संरचना आयोगले त्यसलाई ९ वटामा सिमित गरको छ। २ नम्बर प्रदेशसहित अरु विवादित जिल्लामा भएका सिफारिस सच्याउन सरकारले फागुन ९ गते पुनरावलोकन समितिलाई थप सात दिनेको समय दिएको छ।
समितिलाई दबाब दिन साँखुका बासिन्दाले शान्ति बाटिका पुगेर २४ घण्टे रिले अनशन थालेका हुन्। जनसंख्यालाई मात्र आधार मानेर स्थानीय तह बनाउँदा ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्व बोकेको शंखरापुरको पहिचान नै हराउने भएकाले आयोगको सिफारिसलाई सच्याउनुपर्ने काठमाडौं क्षेत्र नम्बर २ का सांसद दीपकप्रसाद कुइँकेलको भनाइ छ।