नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाली जनताको माग र एमालेको दबाबमा स्थानीय निर्वाचन हुन गइरहेको दाबी गरे।
संविधान संशोधन प्रस्ताव कुबेलाको बाजासरह रहेको प्रसङ्ग उल्लेख गर्दै उनले कुनैपनि हालतमा संविधान संशोधन हुन नदिने दृढता प्रकट गरे।
प्रदेशको सीमाङ्कनलाई तलमाथि गर्ने अधिकार वर्तमान संसदलाई नरहेको उल्लेख गर्दै नेता खनालले नयाँ प्रतिनिधिसभाले मात्र संविधानको संशोधन गर्न सक्ने धारणा राखे।
मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न मधेसी मोर्चालाई दृढतापूर्वक निर्वाचनमा सहभागी हुन आह्वान गर्दै उनले भने, “तराई–मधेसको जनताको हक खोजेको छ भने निर्वाचनमा सहभागी हुनुपर्दछ ।” रासस