ठीक दुई दशकपछि नेपालमा स्थानीय निर्वाचनको तयारी सुरु भएको छ। २०४८ सालमा प्रजातन्त्र आएपछि यसअघि दुईपटक स्थानीय निर्वाचन भएको छ- २०४९ र २०५४ सालमा। ती दुवै निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेकै वर्चश्व देखिन्छ। दुवै निर्वाचनमा यी दुई पार्टी कांग्रेस र एमालेले ८० प्रतिशतभन्दा बढी सिट जितेका थिए।
बहुदल स्थापनापछि २०४९ सालमा नेपालमै पहिलोपटक दलीय प्रतिस्पर्धामा आधारित स्थानीय निकायको निर्वाचन भएको थियो। त्यसबखत नेपालमा ३ हजार ९ सय ९५ गाविस र ३६ नगरपालिका गरी चार हजार ३१ स्थानीय निकाय थिए।
आयोगमा संकलित भएको बाराबाहेक ७४ जिल्लाका तीन हजार ९ सय ३२ स्थानीय निकायको अध्यक्ष वा प्रमुखमा कुन पार्टीले कति जित हात पार्यो भन्ने अध्ययन गर्यौं। निर्वाचन आयोगको पुस्तकालयमा बारा जिल्लाको निर्वाचन परिणामको भने विवरण प्राप्त हुन सकेन।
२०४८ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले दुई हजार एक सय ७६ स्थानीय निकायमा जित हात पारेको थियो। यो कुल स्थानीय तहको ५५ दशमलव ३४ प्रतिशत हो।
दोस्रो ठूलो दल बनेको नेकपा एमालेले ९ सय ५६ वटा स्थानीय तहको अध्यक्ष वा प्रमुखमा जित हात पारेको थियो। यो संख्या २४ दशमलव ३१ प्रतिशत हो।
कांग्रेस र एमालेपछि धेरै जीत पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले हात पारेको थियो। राप्रपाले ३०५ वटा स्थानीय निकायको नेतृत्व जितेको थियो। यसबाहेक संयुक्त जनमोर्चाले एक सय ८७ र नेपाल सद्भावना पार्टीले ११३ स्थानीय निकायमा जित हात पारेका थिए। एक सय ९५ जना स्वतन्त्र उम्मेद्वार गाविस अध्यक्ष वा मेयरमा निर्वाचित भएका थिए।
त्यसको पाँच वर्षपछि २०५४ सालमा भएको निर्वाचनमा एमाले र कांग्रेसको स्थान ठीक उल्टो भयो।
यो निर्वाचनमा एमालेले ५९ प्रतिशत स्थानीय निकायको नेतृत्वमा जित हात पार्यो भने कांग्रेस २५ प्रतिशतमा खुम्चियो।
पहिलो स्थानीय निकायको चुनाव हुँदा काँग्रेस सत्तामा थियो भने दोस्रोमा एमाले सत्तमा थियो। अर्थात यी दुई स्थानीय चुनावमा सत्ताशिन पार्टीलेनै आफ्नो बर्चस्व देखाएका थिए।
निर्वाचन आयोगको पुस्तकालयमा रौतहट र रूकुमको परिणाम प्राप्त हुन सकेन। हामीले यसबाहेक ७३ जिल्लाका तीन हजार आठ सय ३९ स्थानीय निकायको अध्यक्ष वा प्रमुखमा कुन दलबाट कति जना निर्वाचित भए भन्ने अध्ययन गर्यौं।
यो निर्वाचनमा सबैभन्दा एमालेले दुई हजार दुई सय ५७ वटा स्थानीय निकायको नेतृत्व जितेको छ। नेपाली कांग्रेसले नौ सय ४१ एकाइको नेतृत्व जितेको छ।
राप्रपाले भने आफ्नो तेस्रो स्थान यो निर्वाचनमा पनि कायमै राखेको छ। अघिल्लो निर्वाचनमा भन्दा ९० स्थानको नेतृत्व जित्दै ३९५ ठाउँको नेतृत्व हात पार्यो।
यो निर्वाचनमा एक सय ६७ जना स्वतन्त्र रूपमा मेयर वा गाविस अध्यक्षमा निर्वाचित भएका छन्। तर यसमध्ये धेरैजसो मंगोल नेसनल अर्गनाइजेसनका उम्मेद्वार थिए।२०४७को संवैधानिक प्रावधान अनुसार दल दर्ता हुन नसकेपछि यो संगठनले कुखुराको भाले चुनाव चिन्हमा आफ्ना उम्मेद्वार उठाएको थियो।
अघिल्लो स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाएको संयुक्त जनमोर्चा भने विभाजनको चोटसँगै सानो संख्यामा समित भयो। यो निर्वाचनमा राष्ट्रिय जनमोर्चाले २३ र संयुक्त जनमोर्चाले ९ एकाइको नेतृत्वमा हात पारे। नेपाल सद्भावना पार्टी पनि खुम्चिएर ४३ मा आइपुग्यो।
यो निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले तीन तथा समाजवादी जनता दलले एउटा स्थानीय निकायको नेतृत्वमा जित हात पारेको थियो।