तत्कालिन मालेले काठमाडौंमा पद्मरत्न तुलाधरलाई उठाएदेखि नै म चुनावसँग गाँसिएको थिए । २०४३ सालमा जनपक्षिय उम्मेदवार उठाएर पार्टीले चुनावको उपयोग गर्ने निर्णय लिँदा म काठमाडौं नै हेर्थे ।
ठ्याक्कै हाम्रो अनुमान अनुसार नै ८५ हजार चानचुन भोट ल्याएर पद्मरत्नले जित्नुभयो ।
प्रजातन्त्र पुनस्र्थापना यता २०४८, २०५१, २०५६ र २०६४ को निर्वाचनमा पनि मैले पार्टीले दिएको जिम्मेवारी पुरा गरे । आफै प्रत्यक्ष चुनाव उठिन ।
ती चुनावमा पार्टीको दर्शन बिचारधारा, एजेण्डा र नीति कार्यक्रम हामी विभिन्न माध्यमबाट आम मतदातासम्म पु¥याउँथ्यौं । अघिल्ला चुनावसम्म पनि कार्यकर्तामा निष्ठा, समर्पण र त्याग भाव बाँकि थियो ।
ती चुनावमा प्रत्यक्ष भाग नलिए पनि पार्टीले मलाई राष्ट्रिय सभा र संविधान सभामा पु¥यायो । चुनावको प्रत्यक्ष सकस नभोगि सांसद् वा सभासद् भइयो ।
यसपाला मलाई पार्टीले प्रत्यक्षमै लडायो– चितवन क्षेत्र नम्बर १ बाट ।
चुनावको परिणाम आएको एक हप्तापछि मात्र काठमाडौं आए । पैतालामा के बिजाए बिजाए जस्तो लाग्यो ।
ला ! पैतालामा त छालाको पत्र टाँसेजस्तो भएको रहेछ ।
ठेला उठेर, ठेला फुटेर, नयाँ मासु पलाएर पुरानो झर्न लाग्दा मात्र मैले थाहाँ पाएछु । चुनावको नशामा ठेलाको दुखाइको समेत पटक्कै सुँइको पाइएनछ ।
चितवन जिल्ला सुविधा सम्पन्न नै हो । त्यहाँ माथि मेरो निर्वाचन क्षेत्र सुगम नै ।
तैपनि किन यत्रो ठेला ?
मैले यो ठेलालाई चुनावका लागि गरेको घरदैलोको चिनो मानेको छु । यसपालाको चुनावमा मेरो क्षेत्र मात्र हैन देशैभर घरदैलोको यस्तो लहर आयो की सायदै कुनै उम्मेदवारले त्यसलाई नकार्न सके ।
प्रतिष्पर्धीले सुरु गरेपछि घरदैलो थाल्नैप¥यो । घरदैलो थालेपछि कसैकोमा जाने कसैकोमा नजाने गर्ने कुरै भएन ।
‘मेरामा फेर्कर नआउनेलाई के को भोट भन्लान् भन्ने पिर !’ त्यसैले पनि घर नबिराइ डुलियो । धेरै उम्मेदवारको बाध्यता यहिँ होला ।
म चार हजार भन्दा बढि घरमा पुगे हुँला ।
घरैपिच्छे गयो । देउसी भैलो खेलेजस्तो भोट माग्यो हिँड्यो । यसपाला देशैभर देखिएको घरदैलोको संस्कृती पद्दती विकृत बनाउने खालको थियो । यसमा सुधारको खाँचो टड्कारो छ ।
आफै प्रत्यक्ष नलडेपनि म पहिला पहिला पनि सांसद् भएकै हुँ । यसपाला प्रत्यक्षमा भिडेपछि मैले यी दुई थरि सांसद्को भेद निकालेको छु ।
एउटा कोर्ट म्यारिज जस्तो अर्को एरेन्ज म्यारिज जस्तो हुँदोरहेछ । रिजल्ट एउटै हो– जीवन साथि वा संविधान ।
समानुपातिकको प्रकृया ज्यादै सरल र सटिक कोर्ट म्यारिज जस्तो । केटाकेटी गयो सही छाप ग¥यो सकियो ।
प्रत्यक्षमा चुनाव लड्नु एरेन्ज म्यारिज भन्दा कष्टदायक । लमीलाई केटाकेटी खोज्न लगायो । खुसामत ग¥यो । कामकुरो छिन्यो । दाइजोको प्रवन्ध । जन्ती लिएर गयो । जग्गेमा घुम्यो । जन्ती फर्कायो ।
त्यत्तिमै मात्र नसकिने । फेरि सम्धी भेट, सम्धीनी भेट, ढोगभेटदेखि ंदुलहन फर्काउजस्तो गर्नुपर्ने । नत्र मतदाताले जितेपछि फर्केर आएनन् भन्लान् भनेर पनि यसपाला सभासद्हरुले चुनावपछि फेरि एक चक्कर लगाए ।
यो चुनावमा प्रचार सामाग्री पहिले भन्दा निकै नियन्त्रीत थियो । तुल, व्यानर, पम्प्लेट अघिल्ला चुनाव भन्दा निकै कमी । तर अहिलेको कार्यकर्ता परिचालन नै सबैभन्दा जटिल थियो होला !
युवा परिचालन भनेकै मोटरसाइकल रहेछ । मोटरसाइकल भनेपछि पेट्रोल जोडिएर आउने भै–हाल्यो । चुनावको बेला उहिले कहिल्यै बिग्रेको मोटरसाइकल बनाइमाग्न खोज्ने युवा पनि हुँदारहेछन् ।
देख्दा नै ताज्जुब लाग्ने । मैले बैंकमा जागिर खाएर जोगाएको २० हजार रुपैयाँ पार्टीमा बुझाएर होलटाइमर बनेको । अष्टलक्ष्मी शाक्यले हिराको औंठी नै पार्टीलाई दिनुभएको । सर्वस्व पार्टीलाई समर्पित गर्ने साथिहरु हुनुहुन्छ ।
त्याग, निष्ठाको त्यो कालमा पार्टी कार्यकर्ताको समर्पण पनि त्यस्तै हुन्थ्यो । त्यसबाट स्वार्थको यो चरणसम्म कसरि आइपुग्यौं ? यो एक फन्काको बारेमा हामीले समिक्षा गर्न आवश्यक छ ।
कार्यकर्तामा ‘नेताले भलाईको लागि केहि गर्छन्’ भन्ने आम भरोसा हराउँदै गएकाले यस्तो विकृत ट्रेन्ड आएको हो । त्यसप्रति हामी आफै जिम्मेवार छौं ।
चुनावको यस्तो अनुभवमा घोत्लिँदा, अरु उम्मेदवारको तडभडक देख्दा मैले एउटा खतरा देखिरहेको छु– यो पारामा सुधार ल्याएनौं भने अर्को पटकदेखि धनाढ्यले बाहेक चुनाव लड्न नै नसक्ने अवस्था आउँछ ।
जुनसुकै पार्टीमा अहिलेसम्म धेरैजसो मध्यम र निम्न मध्यम वर्गबाट आएका नेता छन । त्यो निम्न वर्गमा पनि सर्नुपर्नेमा यस्तो ट्रेन्डले धनाढ्यहरुले मात्र चुनाव लड्न सक्ने दिन आउँछ । यसपाला नै उम्मेदवारहरुले करोडौंमा खर्च गरेको देखियो ।
हामीले लोकतन्त्रलाई त्यतातिर लान खोजेको हो र ?
निश्चय नै हैन । त्यसैले पनि निर्वाचनको यो शैलीबाट कसरि छुटकारा पाउन सकिन्छ भनेर गम्भिर छलफल अघि बढाउने बेला भइसकेको छ ।
यति कष्टसँग जितेर आउने सभासद्को बोझ यत्तिकैमा हलुङ्गो हुँदैन । संविधान वा कानून बनाउने आधारभूत काम भन्दा उसले धेरै समय र स्रोत अरुमा दिनुपर्छ ।
अस्पतालमा बिरामी लिएर आयो । बेड पाइएन । आइसियू मिलेन । भेन्टिलेटर चाहियो । पैसा भएन । सबै समस्या सभासद्को थाप्लामा ठोकिन्छ ।
हाम्रो चितवनजस्तो जिल्लाका सभासद् त जनताको त्यस्तो कष्ट फुकाउन हिँड्नुपर्छ भने गरिवी, अशिक्षाले अक्रान्त अरु दुर्गम जिल्लाको सभासद्लाई झन् गाह्रो हुने नै भयो ।
बिरामीको लागि सभासद्ले के नै गर्न सक्छ र ?
यसो भनसुन गरेर बेड मिलाइदिएको जस लिन पायो भने लाख । बिरामी हुँदा उपचार पाउनु आम जनताको हक नै हो । तर सभासद्ले चाँहदैमा सरकारले केहि पनि दिन सक्दैन ।
हाम्रा सर्वसाधरण पनि बिरामीलाई पैसा दिन उती उत्साही हुँदैनन् । पैसा नभएको पनि हैन । सप्ताह, मन्दिर बनाउन भए करोडौं उठ्छ । बिरामीलाई भन्नुस् कसैले सुको दिनेवाला छैन ।
तैपनि हामी (सभासद्हरु)ले फोन गरेपछि ‘हुन्छ हजुर’ भनेर डाक्टरहरुले लाज सम्म जोगाइदिन्छन् ।
जिल्लाबाट आएको प्रतिनिधिमण्डल सिंहदरवार र विभिन्न विभाग दौडाउन सभासद्कै काम हो । सभासद्ले ट्याक्सीको पैसा मात्र तिरेर धर पाउँदेन, त्यसरि आएका टोलीलाई खानपान पनि गराउनुपर्छ ।
अझ दुर्गम जिल्लाका सभासद्ले काठमाडौं मात्र हैन जिल्ला गएको बेला कार्यकर्ता भेट्नकै लागि पनि सदरमुकाममा एउटा कोठा लिनुपर्ने हुन्छ ।
यस्ता सारा समस्याहरुसँग जुँध्नुपर्ने सभासद्ले पाउने कति नै हुन्छ र ? सरकार र पार्टीले कर र लेबी काटेर दिँदा तीस हजार रुपैयाँ हाराहारी । फेरि उसले लुट्यो, देशै खायो भनेर बदनमी त चलाइएकै हुन्छ ।
यति महँगो चुनाव लडेर आएर उसले इमान्दारीपूर्वक आफूलाई कसरि सन्तुलित राख्न सक्छ । यो ठूलो चुनौतीको विषय छ । नत्र अहिले पुरानालाई गाली (चोर भनेर) आएका सभासद्हरुलाई अर्कोचोटी अर्काले चोर भनेर हराइदिन्छ । जसको ठूलो स्वर छ उही आउँछ ।
हाम्रो प्रशासन, प्रहरी, अस्पताल तथा विभिन्न सरकारी निकायले पनि हामीलाई जे मा पनि सिफारिश गरिदिने बनाइदिएको छ ।
हालैको एउटा उदाहरण छः
चितवनमा पराल बोकेर हिँडिरहेको ट्रयाक्टरलाई ट्राफिकले समातेछ । उसले जति माग्दा पनि कागजपत्र दिएनछ । त्यो ट्रयाक्रटरवाला म कहाँ आइपुग्यो । मंसिरको बेला छ ।
भर्खर चुनाव सकिएको छ मैले पुलिसको हाकिमलाई फोन गरेर के भएको भनेर सोधेँ ।
‘हुन्छ हजुर पठाइदिउ हामी कागजपत्र दिइहाल्छौं भन्ने जवाफ आयो,’ उनको जवाफबाट मात्र मलाई चित्त बुझेन।
‘गल्ती नगरि किन कागजपत्र खोसेको ? गल्ती हो भने के कारण फिर्ता दिन खोजेको ?,’मैले ती प्रहरीलाईे सोधे ।
अड्डा, अदालत, प्रशासनमा पनि हुने काम कतैबाट भनाएपछि मात्र गरिदिने भनेर जाल थापेर बसेको हुन्छ । उ सधैजसो नेताको अगाडी जाती हुन चाहन्छ ।
यस्ता सबै ऐजेरुहरुबाट मुक्ति पाउने एउट उपाय हो– सुशासन ।
माथिका सबै विकृतीको जड नै शासनमा व्याप्त भ्रष्टाचार, कुशासन हो ।
त्यसलाई पद्दतीले सुधार्नुपर्छ । पद्दती राम्रो भयो भने हाम्रो र जनताको भेट नै अति कम हुन्छ । खुसामतको जरुरी पनि छैन । जनताले सेवासुविधा पाइरहेकै हुन्छन् ।
सार्वजनिक सेवा/सुविधा सुधारियो भने सभासद् बिरामी बोकेर एउटा डाक्टर, अस्पताल, कलेजदेखि, पुलिसकोमा धाइरहनु पर्दैनथ्यो । त्यो नसुध्रेकैले जनता हामीकहाँ धाउन बाध्य भएको हो ।
यो दुष्चक्रबाट मुक्त भएर त्यो उज्यालो दिन ल्याउन अहिलेको प्रवृत्तीमा व्यापक रुपान्तरणको खाँचो छ । नत्र हामी झन् पछौटे हुँदै जान्छौं ।
(किरण भण्डारीसँगको कुराकानीमा आधारित)