२०४६ को परिवर्तनपछि मिडियाले ठूलो फड्को मारेको हो। २०५१ सालमा आइपुग्दा धेरै विकास भएको पनि हो। तर, त्यतिबेला सुरूआतको अवस्था थियो। अहिलेजस्तो व्यापक भइसकेको थिएन। प्रेस क्रियाशील हुन लागेको अवस्था थियो। संसदित प्रेसको राम्रो सम्बन्ध थियो। संसद्लाई सूचनाका लागि सुविधा दिने कुराहरु, पत्रकारहरुलाई संसद्का गतिविधिसित नजिक रहेर काम गर्ने अवसर जुटाउन हामीले विभिन्न उपाय अवलम्बन गरेका थियौँ। प्रेसले संसद्का सबै गतिविधिलाई राम्रोस“ग बाहिर ल्याउने गरेको थियो। त्यतिबेला (रेडियो नेपाल र नेपाल टेलिभिजन)ले ‘संसद्मा आज’ भनेर कार्यक्रमसमेत प्रसारण गर्थे। संसद्का गतिविधि जानकारी गराउने कार्यक्रम पनि छुट्टै हुन्थे।
यसरी प्रेसले सांसदलाई आफ्नो दायित्वमा सचेत गराउने गरेका थिए। संसद्मा भइरहेका गतिविधि जनतालाई जानकारी गराउने काम मिडियाले गरेका थिए। सिंहदरबारमा प्रेसका लागि छुट्टै ठाउँहरु व्यवस्था गरिएको थियो।
संसद्मा नभएका कुराहरु बाहिर आउने अथवा तोडमरोड गरेर समाचार आउने त्यति भएन। तर, संसदीय समितिका बैठक प्रेसका लागि खुला थिएनन्। समितिको बैठकपछि त्यहाँ भएका गतिविधि प्रेसलाई जानकारी दिने प्रचलन थियो। संसद्को बैठक खुला नै थियो तर समितिहरुमा प्रेसलाई राख्ने चलन थिएन। संसद्मा दर्शकदीर्घा खुला नै थियो।
संसदीय प्रक्रिया पूरा गरेर नै विधेयक पारित गरिएको भए पनि कुनै बेला अपवादका रुपमा समाचारहरु नबुझीकन नै बाहिर आउँथे। त्यो समय असाध्यै अस्थिरताको समय थियो। सरकारहरु परिवर्तन भइरहने, पार्टीहरु विभाजन हुने पनि त्यही समयमा भए। अस्थिरता र विकृति भयो भनेर मिडियाले समाचार बाहिर ल्याए। सांसदहरुको किनबेच, मन्त्रीहरुको थाइल्यान्ड भ्रमण प्रकरण भए। सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँदा हुने/नहुने सबै काम भए। यी सबै विकृतिलाई सार्वजनिक गरेर मिडियाले सचेत गराउने काम गर्यो।
त्यसबेलामा संसद्मा भइरहेका गतिविधिले मलाई अलि नरमाइलो लागेको हुन्थ्यो। तर, सभामुखले केही भन्न नमिल्ने। यताका सांसद उता जाने खालका फोहोरी खेल त्यतिबेला भए। मेरा आफ्नै समकालीन साथी शेरबहादुर देउवा प्रधानमन्त्री भएकाले कुनै बेला त भन्थे सिङ्गै पार्टी एमाले अथवा सिङ्गै पार्टी राप्रपाका मान्छेहरु मन्त्री बनाउनुहोस्। एउटा पार्टीको अलिकति, अर्को पार्टीको अलिकति तानेर मन्त्री नबनाउनुहोस्। यसले त विकृति आउँछ। व्यक्ति व्यक्ति तानेर मन्त्री बनाउँदा यसले लोकतन्त्रलाई बदनाम बनाउँछ भनेर मैले सुझाव दिन्थे। तर, भित्रभित्र धेरै खेल भइसकेका हुन्थे। मलाई धेरै थाहा दिन्थेनन्।
त्यतिखेरको दरबारको एकथरी तङ्खवले संसदीय व्यवस्था राम्रोसँग नचलोस्, यसले राम्रो काम नगरोस् भन्ने चाहन्थ्यो। संसद्भित्रबाट नै विकृति ल्याउने प्रयास भएका थिए। एकपटक म सभामुख हुँदाखेरी दरबारमा एउटा कार्यक्रममा गएको थिएँ। एउटा कोठामा त्यतिखेरका अधिराजकुमार ज्ञानेन्द्रसहितका मान्छेहरु थिए। त्यतिखेर अविश्वासको प्रस्ताव आउने र जोगाउन मन्त्रीलाई बैंकक पठाइने विकृति सुरू भएको थियो। त्यो कुरालाई लिएर मजाक बनाइएको थियो, संसद्को खिल्ली उडाइएको थियो। म त्यहाँ सुनेर बसेँ, धेरै कुरा गरिनँ।
अन्तिममा मैले भने– ‘होइन, सरकार ! योचाहिँ नराम्रो काम भयो। मलाई चित्त बुझेको छैन। यसले संसदीय व्यवस्थालाई नै विकृत बनाएको छ। तर, मैले एउटा कुरो देखिरहेको छु, एमालेका ८३ जना र काङ्ग्रेसका ७९ जना सांसद र हिजो बहुदल ल्याउन लागेका सांसदहरु कोही पनि बैंकक जानेमा छैनन्। सबै पूर्वपञ्चहरु मात्रै छन्।’ त्यहाँ ‘यही हो, बहुदल यस्तै हुँदो रहेछ है’ भनेर खिल्ली उडाउन खोजियो। त्यसपछि मैले ‘हिजो बहुदल ल्याउन लडेकाहरु कोही पनि घुम्न गएका छैनौँ’ भन्ने जवाफ दिएँ। ‘सरकारहरुको छत्रछायामा हुर्केकाहरु मात्रै बैंकक घुम्न गएका हुन्’ भनेपछि उनीहरु निरुत्तरजस्तै भए। यी कुराहरु मिडियामा आएनन्। मैले पनि मिडियालाई सबै कुरा भन्ने गरेको थिइनँ। सबै थाहा पाएका कुराहरु दिन पनि मिल्दैन। मैले पनि यस्तो भनेँ भनेर प्रचार गरिनँ। अरुले पनि भन्दिएनन्।
त्यतिबेला धेरै असजिलो परिस्थिति थियो। मलाई दुइटा कुराको चासो थियो, एउटा संसद्मा बहुमतले शासन गर्नुपर्छ, दोस्रो अल्पमतले शासन गर्न हुन्न भन्नेमा। अल्पमतको आवाज त सुन्नुपर्छ तर अल्पमतले ‘डिक्टेट’ गर्ने अवस्था आउन हुन्न भन्नेमा म सचेत रहेको थिएँ। त्यस अवस्थामा लोकतन्त्र होइन, अराजकता हाबी हुन्छ भन्ने थियो। त्यसबेलामा जोसुकैको सरकार भए पनि मैले सरकारलाई सहयोग नै गर्थें। मनमोहन अधिकारी नेतृत्वको सरकारलाई पनि मैले सहयोग गरेको थिएँ। तर, पछि उहाँले संसद् भङ्ग गर्ने प्रस्ताव गर्नुभयो, जुन अविश्वास प्रस्ताव दर्ता गरेपछि राखिएको थियो। त्यसलाई (२०५२ भदौ १२ गते) अदालतले उल्टायो। त्यतिबेला अदालतमाथि आक्रमणसमेत भयो। सभामुखको ठाउँबाट अदालतमाथि आक्रमण नगरौँ, अदालतको क्षेत्रमा हामीले हस्तक्षेप गर्न हुन्न भनेर मैले न्यायालयको मर्यादा जोगाउने काम पनि गरेँ। प्रतिपक्षलाई मिलाउने काम पनि गरेँ।
मिडियामा अलिअलि त नभएका समाचार पनि आउँथे। किनभने, कतिपय मिडियामा विभिन्न दलका आ–आफ्ना पहुँच र प्रभाव थिए। विपक्षीहरु पहिलेदेखि प्रचार गर्ने कुरामा अघि हुन्थे। त्यसकारण कतिपय अवस्थामा अतिरञ्जित प्रचारहरु पनि भए।
(संसदीय मामिला पत्रकार समाजले आजबाट बजारमा ल्याएको पुस्तक संसदीय पत्रकारिताको पुस्तक अंशमा २०५१–०५६ का सभामुख पौडेलसँग पत्रकार सञ्जीव बगालेले गरेको कुराकानीमा आधारित।)