भनिन्छ, पूर्वी नेपालमा रामप्रसाद राई जतिको लोकप्रिय नेता जन्मिएको छैन। उनी राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए। जो राणाहरुलाई सशस्त्र क्रान्तिद्वारा नै पूर्णतः परास्त गर्नु पर्ने पक्षमा थिए। त्यस उल्टो राजा, राणा र कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता भएपछि राणाहरुलाई सत्तामा पुनःस्थापित गरेको, राष्ट्रिय स्वाधिनतामा आँच पुगेको र सच्चा प्रजातन्त्रविरुद्ध षड्यन्त्र भएको बताउँदै माघ ८, २००८ सालमा रामप्रसाद राईले डा. केआई सिंहसँग मिलेर सिंहदरबार कब्जा गरेका थिए। जसलाई ‘सिंहदरबार विद्रोह’का रुपमा चिनिन्छ।
त्यही दिनको स्मरण गर्दै माघ ८ गते सार्वजनिक भएको भोगीराज चाम्लिङद्वारा लिखित ‘जननायक रामप्रसाद राई : माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकसम्बन्धि सम्पादित एक अंशः
रामप्रसाद राई काठमाडौंमा सुवेदार छँदा नै राणाविरोधी भूमिगत गतिविधिमा संलग्न भइसकेका थिए। प्रजा परिषदसँगको निकटता र राजा त्रिभुवनसँग राणा शासनविरुद्ध भूमिगत रुपमा बैठक बस्थे। खोटाङ, छोटी अड्डाको लप्टन हुँदा (वि.सं. २००५–२००६) पनि रामप्रसाद राईले राणा शासनविरुद्ध भूमिगत रुपमा संगठन गरेका थिए। उनले सो अवधिमा मुक्तिसेना बमबहादुर राई, लफ्याङका अनुसार रामप्रसाद राईले लक्ष्मीप्रसाद राई, तुल्सीप्रसाद रेग्मी (मार्से), रेवतीरमण पोखरेल, गुणराज पोखरेल (खार्पा), टीकादत्त रेग्मी (दुवे), देव भट्टराई (लामीडाँडा), धनप्रसाद राई (वर्रे) र बलबहादुर राई (लफ्याङ) लगायतलाई संगठित गरेका थिए। राणा शासनविरुद्ध भूमिगत रुपमा संगठन गरेको कुरा झोसपोल भएका कारण रामप्रसाद राईलाई तीनपटक स्पष्टीकरणका लागि बोलाइएको थियो। रामप्रसाद राईका छोरा मानबहादुर राई भन्छन्, ‘बुबाले राणा शासनविरुद्ध भूमिगत रुपमा संगठन गर्न थालेको कुरा राणा प्रधानमन्त्रीहरुलाई झोसपोल लगाएछन्। बुबालाई तीन पटक झिकाएर ‘तिमीले सरकारको जागीर खाएर हाम्रै विरोध गर्दैछौ रे’ भनेर सोधपुछ गरेका थिए। तर, बुबाले भूमिगत संगठन गर्न छोड्नुभएन। त्यै कारण जागीर पनि खोसियो।’
लेखक चाम्लिङ
तत्कालीन लेफ्टिनेन्ट धनबहादुर निरौला खत्रीले बताएअनुसार रामप्रसाद राई राणा सरकारविरोधी हुन् भनेर झोसपोल गर्नेहरुमा कप्तान भक्तबहादुर खड्का, लेफ्टिनेन्ट लालबहादुर कार्की, सुवेदार जहानसिंह कार्की, हरिवंश ओझा थिए। उनीहरुले धनकुटा गौंडाका बडाहाकिम खेम शमशेर राणा र लोचनशमशेर राणा समक्ष सो पोल लगाए। लोचनशमशेरले श्री ३ प्रधानमन्त्री मोहनशमशेर राणा समक्ष लप्टन रामप्रसाद राई राणा सरकारविरोधी रहेको पोल लगाएपछि रामप्रसाद राईलाई राजीनामा दिन आदेश पत्र आएको थियो। रामप्रसाद राई राणा शासकहरुसमक्ष झुक्न तयार भएनन्, गर्वसाथ राजीनामा दिए। रामप्रसाद राई कतिसम्म निडर र राणाविरोधी चेतनामा प्रतिवद्ध थिए भने खोटाङका हरिवंश ओझा र जयराज आचार्यबीचको झगडामा दिएको निर्णयउपर हरिवंश ओझाले पोल लगाएकोले आफैं उपस्थित भएर स्पष्टीकरण दिन भोजपुर मुकामका बडाहाकिम भक्तबहादुर कार्कीले दोस्रोपटक पत्र काटेपछि उनले चुनौती दिँदै भनेका थिए, ‘म आफू विरामी भएको कारणले उपस्थित हुन असमर्थ छु। म आफू पनि बहालवाला कर्मचारी हो। मेरो रोहवरमा अन्य कर्मचारीलगायतले गरेको निर्णय एवं फैसला अमान्य हुन्छ भने पानी समाएर राणाका दलालहरुले झैं चाकडी गरेर खाएको जागीर होइन जे गर्नुपर्ने हो बडाहाकिमको विवेकले भ्याउँदो गर्नू।’
रामप्रसाद राई वि.सं. २००२ मा जग्गा नापी गर्ने अधिकारी भएर खोटाङमा जनताका पक्षमा काम गरेका कारण लोकप्रिय थिए। यस क्रममा रामप्रसाद राईले भाइटीका लगाएका जग्गुमाया राईको वि.सं. २००७ सालको सशस्त्र क्रान्तिमा महत्वपूर्ण भूमिका रह्यो। जग्गुमाया राईको २००७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका रह्यो। त्यस्तै पछि खोटाङको लप्टन हुँदा पनि जनताका पक्षमा काम गरेका कारण रामप्रसाद राई झन् लोकप्रिय भए।
बडाहाकिम जागीर छोडेपछि उनलाई खोटाङका सयौं जनताले भावपूर्ण विदाइ गरेका थिए, रामप्रसाद राईका छोरा मानबहादुर राई स्मरण गर्छन्, ‘म त्यतिखेर दश वर्षको थिएँ । बुबाले राजीनामा दिएपछि हामीलाई लगभग दुई–तीन सय जनता उपस्थित भएर विदाइ गरेका थिए। त्यसबखत उपस्थित जनतालाई निर्धक्क भएर बुबाले भन्नुभएको थियो, ‘चिन्ता नलिनुस्, अबको एक वर्षमा राणा शासन ढल्छ।’
बुबाले भन्नुभएको त्यो कुरा मेरो कानमा अहिले पनि गुञ्जिरेहको छ।’
खोटाङ बजारका माणिकलाल प्रधानको भनाइ पनि यस्तै रहेको छ। उनी भन्छन्, ‘२००६ सालमा लप्टनबाट खोसुवा भएपछि बजारका सबै मान्छे उर्लेर उहाँलाई विदाइ गरिएको थियो। बजारका सबैले उहाँलाई माया गर्थे नत्र किन खोसुवामा परेका हाकिमलाई विदा गर्न जान्थे? हामी नेवारहरुमा मोसिपो दिने चलन छ। तिहारमा चेलीहरुले मसला भनेर दिन्छन् नि माइतीहरुलाई मिश्री, नरिवल, मिठाइ आदि राखेर त्यस्तै राखेर। बजारका सबैले रामप्रसाद राईलाई मोसिपो दिएर निकै टाढासम्म पु¥याए। म पनि गएको थिएँ। छुट्ने बेलामा रामप्रसाद राईले हाम्रो बुबालाई भने, ‘साहुजी, याद गर्नू है। अबको वर्षभित्र केही न केही हुन्छ।’ राणा सरकारको लप्टन छँदा नै रामप्रसाद राईको काँग्रेसहरुसँग सम्पर्क थिएछ। त्यही भएर त उनलाई खोसुवा गरियो। नभन्दै एक वर्षपछि त क्रान्ति भइहाल्यो।’
रामप्रसाद राईलाई विदाइ गर्न स्थानीय जनता र कर्मचारीहरु खोटाङको बडका भञ्ज्याङसम्म पुगे। तत्कालीन मिलिसिया प्रेमबहादुर विष्ट र पटके सिपाही पद्मलाल कोइरालाका अनुसार रामप्रसाद राईले आफूलाई विदाइ गर्न आएकाहरुलाई फिर्ता गर्ने क्रममा बडका भञ्ज्याङमा सम्बोधन गरेका थिए। उनले भनेका थिए, ‘अब राणा शासन धेरै टिक्दैन। राणाहरुको विरोधमा उथलपुथल हुन्छ। तर नडाराउनु होला, कुनै दिन यो खोटाङमा म फर्केर आउने छु। सबभन्दा पहिला घर, त्यसपछि भोजपुर तब काठमाडौं जान्छु।’ उनीहरु थप भन्छन्, ‘त्यो त क्रान्तिको विगुल थियो। उहाँको त्यो छोटो भाषण सुन्नेहरुले बुझ्नेले बुझे पनि र नबुझ्नेले पनि मौन हुन प¥यो।’
जनताका पक्षमा काम गरेका कारण रामप्रसाद राईलाई जनताले यति धेरै सम्मान गरेका थिए। जनपक्षीय कामकै कारण उनी राणा सरकारका हाकिमहरुबाट आँखाको कसिङ्गर पनि भए। तर, रामप्रसाद राईलाई यसले अझ ऊर्जा दिएको थियो। उनले ब्रिटिस सेनामा कार्यरत र फर्किएका लाहुरे तथा गाउँमा तालुकदारहरुलाई संगठित गरे।
उनी ब्रिटिस सेनामा कार्यरतहरुलाई नेपालमा राणाविरोधी क्रान्ति गर्नुपर्र्ने बताउँदै हतियारसहित नेपाल फर्किन आग्रह गर्दै पत्र पठाउँथे। त्यसरी पत्र पठाइएकामध्ये एक थिए क्वालालम्पुर कार्यरत हवल्दार श्रीपाल राई। यसबारे उनी यस्तो बताउँछन्, ‘म क्वालालम्पुर ‘सातौं गोर्खा राइफल्स’ पल्टनमा रहँदा (रामप्रसाद राईले) मलाई नेपालमा राणा सरकारको विरुद्धमा क्रान्ति गर्नुपर्ने हुँदा आउँदा हतियार र पिस्तौलका साथै ग्रेनेड गोली पनि ल्याउनू भनेर चिठी लेखेका थिए। यसको साथै रिलिजमा धमाधम हाम्रा मानिसहरु आउँदैछन्, आफ्नो देशमा यस्तो संकट हुँदा स्वदेश फर्कनुपर्ने कुरासमेत लेख्दथे। म पनि हल्दार पेन्सन पाक्न केही बाँकी रहेको हुनाले सन् १९४७ को १२ औं महिना मंसिर (डिसेम्बर)मा निस्केँ । ... (रामप्रसाद राई) आफ्नो जागीर नेपालका राणाहरुलाई नै चढाएर आएको गुनासाहरु पोख्दथे। उनमा राणा सरकारका प्रति तीव्र घृणा जागेको पाइन्थ्यो।’
बासिखोरा भोजपुरका भू.पू. सेना लालबहादुर राई पनि ती थुप्रैमध्ये थिए जसलाई रामप्रसाद राईले हतियार ल्याउन चिठी लेखेका थिए। रामप्रसाद राईले पल्टनबाट छुट्टीमा आउँदा बारुद बनाउने गन्धक, सोडा, गोली र ग्रिनेड लिएर आउन चिठी पठाउँथे। लालबहादुर राईले जमदार एस.सी. भरतसिंह राई (त्रिवेणीघाट)मार्फत् रामप्रसाद राईलाई चार पेटी गोली पठाइदिएका थिए पनि। रामप्रसाद राई छुट्टीमा फर्किएकाहरुसँग पनि तुरुन्तै भेटघाट र छलफल गर्थे भने गाउँमा भरुवा बन्दुक हुनेहरुसँग पनि सम्बन्ध कायम गर्थे।
रामप्रसाद राई राणाविरोधी संगठन गर्ने क्रममा भोजपुरदेखि रौतहट, कलकत्तासम्म पुग्ने गर्थे। वि.सं. २००७ सालको कुनै एक महिना रामप्रसाद राई घरबाट निस्केको २७ दिनपछि मात्र गाउँ आइपुगे। गाउँ आएपछि उनले गाउँका केटाकेटीहरुलाई भकिअमिलाको दाउरा, फलामका टुक्रा, किट र कुरिनढुंगा खोज्न लगाएका थिए। सायद यसपटक उनी कलकत्ता अथवा वैरगनिया पुगेर फर्किएका थिए। लगभग यही कुरासँग मिल्दोजुल्दो कुरा हवल्दार श्रीपाल राईले पनि बताएका छन्। भेटघाटका क्रममा भएका कुराकानी सुनाउँदै रामप्रसाद राईले हवल्दार श्रीपाल राईलाई चाँडै क्रान्ति हुने कुरा बताएका थिए। उनी भन्छन्, ‘उनी (रामप्रसाद राई) भरखरै कलकत्तातिरबाट फर्केर आएको र त्यहाँ आफ्ना देशका प्रवासी नेताहरुसँग भएको भेटवार्ता सम्बन्धमा हामीलाई सुनाउँथे र अब क्रान्ति हुन्छ भन्थे। मेरो विचारमा कांग्रेस र कम्युनिस्ट नेताहरुलाई भेटेर आएको हुनुपर्छ।’ ठीक यस्तै कुरा भूपू सेना वीरबहादुर राईले पनि बताएका छन्। रामप्रसाद राईले उनीलगायतलाई ‘अब राणा शासन धेरै दिन टिक्दैन, यो साल (वि.सं. २००७) भूपू सेनाहरु आसाम, मुगलान कोही कहीँ जानु पर्दैन, यहीँ रु. १५ देखि २० सम्मको जागीर खुल्छ’ भनेका थिए।