प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा भोलि दुई सदस्य थपिने भएका छन्।
अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेम बहादुर सिंह मन्त्री बन्ने टुंगो भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनीहरूले भोलि साढे दुई बजे सपथ ग्रहण गर्नेछन्।
सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालय र खड्कालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा दिने तयारी भएको सचिवालयले जनाएको छ।
यी दुवै मन्त्रालय अहिलेसम्म प्रधामन्त्री दाहाल आफैंले हेर्दै आएका छन्।
बिस्तारपछि मन्त्रिमण्डलमा ४३ जना सदस्य हुनेछन्। वर्तमान मन्त्रिमण्डलमा ४१ सदस्य छन्।
मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई पनि मन्त्री बनाउन प्रधानमन्त्री दाहालले कसरत गरिरहेका छन्।
तर मन्त्रालयको कुरा नमिल्दा थापा र गच्छादार मन्त्री बन्ने कुरा टुंगो लागिसकेको छैन। तर, छलफल भने चलिरहेको सचिवालय स्रोतले जानकारी दिएको छ।
'अहिलेसम्म टुंगो लागिसकेको छैन तर छलफल चलिरहेको छ,' स्रोतले सेतोपाटीसँग भन्यो।