सरकारको नोटबन्दीको विरोधमा बुधबार गुजराजस्थित अहमदाबादमा रहेको रिजर्व बैंकको कार्यालयमा तालाबन्दी गर्न गएका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता सुशील कुमार शिन्देलाई प्रहरीले गिरफ्तार गरेको छ।
उनी पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार रिजर्व बैंकको कार्यालयमा पार्टीका अन्य नेता तथा कार्यकर्तासँगै पुगेका थिए। उनीसँगै प्रदेश अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री भरतसिंह सोलन्की, नेता प्रतिपक्ष तथा पूर्व मुख्यमन्त्री शंकरसिंह वाघेलालाई पनि प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ गर्नुअघि शिन्देले नोटबन्दीका कारण गरिब तथा मजदुरले दुःख झेल्नु परेको आरोप लगाएका थिए। कडा सुरक्षाका बीच रिजर्व बैकको मुख्य कार्यलयमा तालाबन्दी गर्न गएका महिला कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको थियो। बुधबारको निर्धारित कार्यक्रमलाई मध्यनजर गर्दै राज्य सरकारले सुरक्षा बढाएको थियो।
नोटबन्दीको घोषणाको केही समयपछि नै यसको विरोधमा उत्रिएको कांग्रेसले पछिल्लो समय गुजरातभरी बैंकमा तालाबन्दीको कार्यक्रम आयोजना गरिरहेको छ।