शिक्षा मन्त्रालयले विद्यालय तहको पाठ्य पुस्तक समयमै उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
शिक्षामन्त्री धनिराम पौडेलले नयाँ शैक्षिक सत्र सुरु हुनअघि नै पाठ्यपुस्तक सम्बन्धित विद्यालयसम्म पुर्याउने प्रतिवद्धता जनाएका हुन्। व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले मंगलबारको बैठकमा वर्षेनी पाठ्यपुस्तक अभाव हुने गरेकोतर्फ सचेत गराएपछि उनले समयमै पाठ्य पुस्तक उपलब्ध गराउने गरी कार्ययोजना बनाएर अघि बढेको स्पष्टीकरण दिएका हुन्।
मन्त्री पौडेलले फागुन १ गते भित्रै पाठ्यपुस्तक सम्बन्धित विद्यालयले पाउने गरी छपाईको कामलाई तीव्रता दिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिइएको जानकारी पनि दिए। उनले निजी क्षेत्रलाई समेत छपाईको काम दिने विगतको परम्परालाई पनि निरन्तरता दिने स्पष्ट पारे।
सरकारले पुस्तक छपाईको कामलाई अघि बढाउने कार्ययोजना बनाएपनि वितरणको कामको जिम्मा भने कसलाई दिने भन्ने टुंगो लगाउन सकेको छैन। शिक्षा मन्त्रालयले विद्यालय तहका ७९ लाख ११ हजार ९ सय ६६ वटा पाठ्य पुस्तक स्टकमा रहेको र आवश्यक पुस्तकको छपाईको काम सकिने वित्तिकै वितरणको कामलाई तीव्रता दिने जनाएको छ।