त्यो दिन मधेसी, दलित र जनजातिले पृथ्वीनारायणमा आफ्नो अनुहार देख्लान्?

skoda
  • Get News Alerts

united
tata

एकीकरण हुनुभन्दा पहिले नेपालको त कुरै छाडौं, उपत्यकाभित्रै तीनवटा राज्यको अवस्था विचित्रको थियो।

काठमाडौंका राजालाई रिस उठेको छ भने सद्विज छर्न आएका बेला ललितपुर वा भक्तपुरका बासिन्दा लघारिन्थे। ललितपुरका राजाको मन अमिलिएको छ भने रातो मच्छिन्द्रनाथको रथ जात्रा बेला काठमाडौं वा भक्तपुरका नागरिक कुटाई खाँदै लखेटिनुपथ्र्यो। त्यसैगरी भक्तपुरका राजालाई चित्त बुझेको छैन भने बिस्केट जात्रामा त्यसको रिस छिमेकी राज्यका जनताले भोग्नुपर्थ्यो।

‘मल्लहरूका आफ्नै दाजुभाइले शासन गर्दा पनि यस्तो अवस्था थियो,’ इतिहासकार दिनेशराज पन्त भन्छन्, ‘प्रत्येक नेपालीले निर्विघ्न मेचीदेखि महाकालीसम्मको ऐश्वर्य भोग गर्ने अवसर पृथ्वीनारायण शाहले नै मिलाइदिएका हुन्।’

प्राज्ञ पन्त उनकै पिता नयराज पन्तले स्थापना गरेको संशोधन मण्डलका विद्यार्थी हुन्। इतिहासको स्वतन्त्र उत्खनन् गर्ने संशोधन मण्डलले पृथ्वीनारायण शाहका बारेमा धेरै खोतलेको छ। पटक–पटक पुस्तक निकाल्दै आएको छ। अहिले पनि दिनेशराजका १५ सय पृष्ठ बाक्लो पुस्तक छापिन लगभग तयार छ। त्यसले पृथ्वीनारायण शाहबारे थप तथ्य बाहिर ल्याउँदै छ।

‘पृथ्वीनारायणले नेपाल एकीकरण गरेको नभई पुनः एकीकरण गरेका थिए,’ पन्त भन्छन्, ‘नेपाल त प्राचीनकालमै एकीकृत थियो।’

लिच्छवि कालका शिलालेख, चिनियाँ यात्रीको वर्णन, त्यो बेलाका संस्कृत वाङ्मय, कौटिल्य अर्थशास्त्रमा उल्लिखित बयानबाट यसको प्रमाण मिल्ने उनले बताए। ती प्रमाणका आधारमा त्यसबेलाको नेपाल क्षेत्रफलका दृष्टिले कतै बढी कतै घटी भए पनि झन्डै झन्डै अहिलेकै जत्रो थियो। 

‘काठमाडौं उपत्यका मात्रै नेपाल भइदिएको भए पूर्वमा दुम्जा र पश्चिममा गोरखासम्म लिच्छवि कालको शिलालेख कसरी पाइयो?’ पन्त प्रश्न गर्छन्, ‘त्यसैगरी उत्तरमा लिच्छवि कुटिला लिपिमा लेखिएका शिला जुम्लामा पाइनुले के बताउँछ भन्ने प्रस्ट छ।’

लिच्छवि कालपछि विसं ७९० अर्थात् जयदेव द्वितीयपछिको अवस्थामा नेपाल राज्य कमजोर हुँदै गएको इतिहासले देखाउँछ। त्यसपछि क्रमशः राज्य टुक्रिँदै गएको पन्त बताउँछन्।

‘विक्रमको १२ औं शताब्दीमा पुग्दा विभाजित नेपालमा तीनवटा शक्ति खडा हुन गयो,’ पन्त भन्छन्, ‘एउटा काठमाडौं उपत्यका, अर्को दक्षिणपूर्वी भेगमा नान्यदेवले खडा गरेको सिम्रौनगढ राज्य र तेस्रो पश्चिमोत्तर भेगमा नागराजले खडा गरेको सिंजा।’

त्यो सिंजा राज्यले कुनै बेला अहिले तिब्बतमा पर्ने मानसरोवरदेखि भारतको उत्तराञ्चलमा पर्ने कुमाउ गढवालसम्म समेटेको थियो। पछि तिनीहरू पनि टुक्रँदै गए।

‘यसरी टुक्रँदै जाँदा पृथ्वीनारायणको जन्म भएको समयसम्म नेपालभित्र ५२ वटा राज्य खडा भइसकेका थिए,’ पन्त भन्छन्, ‘त्यही ५२ मध्येको एक सामान्य राज्य गोरखा थियो।’

यस्तो अवस्थामा नेपालको पुनः एकीकरण पृथ्वीनारायण शाहले गरेको उनी बताउँछन्।

‘त्यो एकीकरण भौगोलिक हिसाबले मात्र भयो नि?’

यो प्रश्न राखेपछि गुरुकुल पद्धतिका छात्र दिनेशराज बाक्लो चस्मा माथि सार्दै एकछिन हाँसे। त्यसपछि श्लोक हालेर एक लाइन सुनाए।

थोरै विज्ञ र धेरै मूर्ख जनता यो लोकमा भइदिँदा

छुट्टुका परिपञ्चबाट पनि ता हुन्छ अनेक कुरा

अहिले जानेबुझेका थोरै मानिस पनि चुप लागेर बसिरहेका बेला छट्टुहरूले प्रायोजित कुरा गरेर संसारै तर्साइरहेको उनले सुनाए।

‘भावनात्मक एकता कसरी भयो भनिदिनुस् न त?’ उनलाई फेरि सोधियो।

‘शाक्य कन्याको पाउमा आएर ढोग्ने पृथ्वीनारायणले भावनात्मक एकताको प्रयास गरेनन् भन्नु सत्यलाई आँखा चिम्लनु हो,’ उनले थपे, ‘तराईका थारुहरूलाई कसरी समेटिएको थियो भन्ने विषयमा किताबै निस्केको छ।’ मधेसमा किन असन्तोष भइरहेको छ भन्ने आफूले पनि नबुझेको पन्त सुनाउँछन्।

उनका अनुसार गयासुद्दिन तुगलकको आक्रमणमा परेर राजा हरिसिंहदेव र देवलदेवी सिम्रौनगढबाट भागेपछि मधेसमा कुनै राज्य नै बाँकी थिएन। १३८१ मै टुक्रिसकेको सिम्रौनगढ क्षेत्र १५८० तिर मुकुन्द सेनको प्रभावमा परिसकेको थियो।

‘यस्तो अवस्थामा तराईमा न कसैले कसैलाई जितेको हो,’ पन्तको दाबी छ, ‘न त्यहाँ कसैले कसैलाई हराएको छ।’

तैपनि तराईको यथार्थ केही बेग्लै रहेको उनी स्वीकार्छन्।

‘सेनहरूले मोहीका रूपमा समथर जमिनको निम्ति उताको अवधका शासकहरूलाई कर तिर्थे,’ उनले थपे, ‘त्यस्तो कर पृथ्वीनारायण शाहले पनि अवध र पछि अंग्रेजहरूलाई तिरेकै हुन्।’

एउटा निश्चित अवधिसम्म बहाल तिरेपछि घरै भाडामा बस्नेको नाममा हुने प्रचलन अहिले पनि भारतमा कतै कतै रहेको बताउने पन्तका अनुसार त्यही प्रावधानमा पछि मधेसमाथि स्वामित्व स्थापित भएको हो। १८७१ को लडाइँपछि अंग्रेजले त्यो जग्गा नेपाललाई दिएको भन्ने दाबी आधारहीन रहेको पन्त सुनाउँछन्।

‘अहिले त पहाडमा पनि जातैपिच्छे सबैको राज्य थियो भनेर हाँसउठ्दो कुरा गर्न थालेका छन्,’ पन्त भन्छन्, ‘त्योबेला मलेरियाको घर भनेर चिनिने तराईमा कसले कसलाई अन्याय गरेको थियो भनेर देखाउनु पनि त पर्ला कि!’

विश्वमा जहाँ पनि जित्नेले इतिहास बनाउने गरेको अवस्थामा गोरखाका राजाको बेग्लै अवस्था देखिने उनी सुनाउँछन्।

‘मैले गोरखाको इतिहास लेख्न खोज्दा द्रव्य शाहको सामग्री पाउनै सकिनँ,’ उनी भन्छन्, ‘ख्वै त हामीकहाँ जित्नेको इतिहास?’

राज्य विस्तार गर्दै गएपछि त्यसमा शासन गर्न खोज्ने भाइहरूसँगै दुश्मनी लिएका पृथ्वीनारायणले देशलाई ठूलो र बलियो बनाउनेबाहेक अरू उद्देश्य राखेको कतै नदेखिने पन्तको दाबी छ।

काठमाडौं र ललितपुर जित्नेबित्तिकै शासन गर्न पाइएन भनेर उनका भाइहरूले दाजुको साथ छाडेर हिँडेका थिए। कान्छो भाइ सूरप्रताप पछिसम्म साथै थिए। भक्तपुर आक्रमणको जिम्मा यिनै कान्छा भाइ र कालु पाँडेका छोरा वंशराजको काँधमा थियो। त्यसमा धेरै मानिसको ज्यान गयो। अन्तिममा विजयी भएपछि त्यसको जस पनि भाइलाई नदिएर पृथ्वीनारायणले वंशराजलाई पगरी लगाइदिए। यी सबै घटनाबाट पृथ्वीनारायणको एकमात्र उद्देश्य नेपाल एकीकरण नै रहेको देखिने पन्त दाबी गर्छन्। 

‘कतिसम्म भने, राजपाठ सम्हाल्न योग्य छैनन् भनेर उनी आफ्नै जेठा छोरालाई राजा बनाउन इच्छुक नरहेको इतिहासले देखाएको छ,’ पन्त भन्छन्, ‘तर, काठमाडौंका राजा प्रताप मल्लले जेठाको साटो कान्छो छोरालाई राजा बनाएपछि जनताले तीन वर्षसम्म नस्वीकारेको अवस्थामा परम्परालाई अतिक्रमण गर्नुको जटिलता पनि देखिन्छ।’

पृथ्वीनारायण शाहलाई अरूभन्दा बढी उनकै सन्तानले नबुझेको पन्तको ठहर छ। ‘उनले राज्य जोडिदिए, त्यसबाट हामीले ब्याज खानुपर्छ’ भन्ने मात्र शाहवंशीय राजाहरूको सोच रहेको आरोप उनी लगाउँछन्।

पञ्चायतकालभरि पनि पृथ्वीनारायणबारे ठोस अनुसन्धानमा ध्यान दिनुभन्दा चाकडीमै केन्द्रित गराइएको उनको आरोप छ। कहिले प्रज्ञाप्रतिष्ठान, कहिले गाउँफर्क त कहिले पुरातत्व विभागले पृथ्वी जयन्ती मनाउने गरेकामा एकपटक त पुरातत्वले पृथ्वीनारायणलाई ‘आध्यात्मिक शक्तिले समेत युक्त’ भनेर पुस्तक छापेको थियो। यस्तो अनावश्यक चाकडीले इतिहासको तथ्य बिथोल्छ भनेर पन्तका पिता नयराजले आपत्ति जनाए। पृथ्वीनारायण केवल राजनीति जानेका मानिस हुन् भनेर नयराजले प्रस्ट पारिदिए। पञ्चायतकालमा यस्तो कुरा नयराजबाहेक लरोतरो मानिसले गर्न पनि सक्दैन थियो।

‘इतिहास लेख्ने मान्छेले अनुसन्धानबाट फेला परेको कुरा राखिदिने मात्र हो,’ पन्त भन्छन्, ‘यसलाई बिगार्ने काम राजनीति गर्ने मान्छेले गरिरहेका हुन्छन्।’

पन्तसँग पञ्चायत र पछि गणतन्त्रकालकै एउटा रोचक अनुभव पनि रहेछ।

गोरखामा पृथ्वी संग्रहालय बनाउन पुरातत्व विभागले त्यसमा राख्नुपर्ने र लेख्नुपर्ने कुराको सहयोग पन्तसँग मागेको थियो। उनले द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मका शिलापत्र कुदाउन मिल्ने गरेर लेखिदिए। तर, पन्तको कामसँग तत्कालीन सरकार सन्तुष्ट भएन। पुरातत्व विभागले फेरि एक वरिष्ठ इतिहासकारलाई त्यहाँ पठायो। ती वरिष्ठले अरू केही गरेनछन्। केवल पन्तले ‘गरे’ भनेको ठाउँमा ‘गरिबक्स्यो’, ‘खाए’ भनेको ठाउँमा ‘ज्युनार गरिबक्स्यो’ मात्र थपे। त्यो त्यसैगरी छापियो।

पछि सत्ता परिवर्तन भयो। गणतन्त्र आयो। त्यसपछि फेरि रातारात संग्रहालयको नाम फेरेर ‘गोरखा संग्रहालय’ बनाइयो। त्यसैगरी ‘गरिबक्स्यो’ लाई फेरेर पन्तले नै लेखेका लाइनहरू फेरि यथावत प्रिन्ट गरियो।

‘हामी कसरी काम गर्छौं र राजनीतिक आग्रहले प्रेरित मानिसले त्यसलाई कसरी मूल्यांकन गर्छन् भन्ने यसैबाट प्रस्ट हुन्छ,’ पन्त सोध्छन्, ‘नेपालको एकीकरणजस्तो कुरालाई महत्वहीन बनाउन लागिपरेका मानिससँग कसरी कुरा मिल्छ?’

इतिहासको राम्रो अध्ययन नगरी एकोहोरो पृथ्वीनारायणको भक्ति गर्न चाहने वा उनको मानमर्दन गर्न चाहने दुवैथरिले जथाभावी तर्क दिएर अप्ठेरो स्थिति सिर्जना गरिदिएको पन्त सुनाउँछन्।

पृथ्वीनारायण शाहको राज्य एकीकरणले भावनात्मक एकता नगरेको आवाज यतिबेला मधेसी र जनजाति फाँटबाट आइरहेको छ। तर, जनकपुरको बौद्धिक घेरामा परिचित डा. राजेन्द्र विमल भने यसरी आवाज उठाउनेहरूप्रति उल्टो गुनासो गर्छन्।

‘कि त हामी नेपाली नै होइनौं भन्न सक्नुपर्छ,’ उनी प्रश्न गर्छन्, ‘नत्र भने नेपाल निर्माण गर्ने मान्छेप्रति के को असन्तुष्टि?’

त्यो कालमा संसारभर मुलुकहरूको निर्माण जसरी भएका थिए, पृथ्वीनारायण शाहले पनि त्यसै गरेको विमलको धारणा छ।

‘यत्रो विविधताले भरिएको मुलुक तयार पारेपछि पनि फरक–फरक फूलहरुको साझा फूलबारी हो, चेतना होस् है भनेर गएका मानिस कसरी गलत हुन सक्छन्?’ उनको प्रश्न छ, ‘उनी पछिका शाहवंशीय राजाहरूले सबै भाषा र संस्कृतिको विकासमा चासो नराख्नु बेग्लै ठाउँमा छ।’

अहिले चर्को कुरा गरेर चर्चामा आउने होडबाजी चलिरहेका बेला आफूजस्तो मानिसको मुखबाट यस्तो कुरा सुन्नु नपरोस् भनेर धेरैले चाहना राखिरहेको विमल सुनाउँछन्।

‘म लाभहानी नहेरेर सत्यको पक्षमा बोल्ने मान्छे हुँ,’ उनी भन्छन्, ‘पृथ्वीनारायणलाइ मान्दिनँ भन्नु विखण्डनको चाहना राख्नु हो, जसलाई मजस्ता धेरै मधेसीले कदापि मान्दैनन्।’

यतिबेला एकातिर मधेसी दल र अर्कातिर नेकपा (एमाले) ले अलिक बढी नै जिद्दी गरेर परिस्थिति जटिल बनाइरहेको उनलाई लागिरहेको छ। यी दुवैथरि थोरै पछाडि सरिदिए हुन्थ्यो भन्ने उनी सोच्छन्।

विमलका अनुसार पृथ्वीनारायणले नेपाल एकीकरण गर्नुअघि खुद मधेसको अस्तित्व पनि बेग्लै थियो। ‘न त अहिलेको जस्तो विस्तृत भूभाग थियो,’ उनी भन्छन्, ‘उथलपुथलबीच न एकठाउँ स्थिर थियो।’

उनका अनुसार उत्थान र पतनको चपेटामा परिरहेको यो भूखण्डलाई कहिले नवाबहरूले त कहिले इस्ट इन्डियाले तानतुन पार्थे त कहिले यता पथ्र्यो। ‘त्यस्तो गतिशिल भूगोल भएको ठाउँलाई समेटेर एक पारिदिने काम पृथ्वीनारायण शाह र जंगबहादुरहरूले गरेका हुन्,’ उनी भन्छन्, ‘एक ढिक्का भएपछिको विशाल मधेसमा हकदाबी चाहिँ गर्ने तर तयार पारिदिने मानिसलाई स्वीकारै गर्दिनँ भन्ने कुरा कसरी मिल्छ?’

डा. विमललाई एउटा कुरा भने पछिल्लो कालमा असाध्यै आवश्यक लाग्न थालेको छ।

‘यो मुलुकको इतिहास पुनर्लेखन हुनु जरुरी देख्छु,’ उनी भन्छन्, ‘त्यसले पनि सर्वसाधारणलाई धेरै कुरा बुझ्न मद्दत गर्नेछ।’

इतिहासमा गोपाल, महिषपाल वंशदेखि मल्लकालसम्म मधेसकै प्रभाव नेपालको शासनसत्तामा परेको उनी बताउँछन्। मल्लकालमा राजभाषा नै मैथिली रहेकोदेखि लिएर भक्तपुरमा अहिले पनि मैथिली भजन गाउने परम्परा रहेका कुरा बाहिर आउनै नसकेको उनले सुनाए।

‘हामी सबैथोक भएर पनि केही नभएको अवस्थामा पुगेका छौं,’ त्रिभुवन विश्वविद्यालयका दशकौं पुराना गुरुले थपे, ‘भावनात्मक रूपले नेपालीहरूलाई एक पारिदिने नेताको अभाव भएकैले यस्तो बिजोग भएको हो।’

डा. विमलले पढाउने विश्वविद्यालयमै उपकुलपति रहिसकेका प्राध्यापक केदारभक्त माथेमा भने यस विषयमा अलिक बेग्लै धारणा राख्छन्।

यति सुन्दर मुलुकको धनी बनाइदिएकामा उनी पृथ्वीनारायण शाहप्रति जति कृतज्ञ छन्, एकीकरणपछि सबै भाषाभाषी र जातजातिले समान अवसर पाएनन् कि भन्ने कुराले उनलाई उत्तिकै पिरोल्ने गर्छ।

सबैभन्दा पहिले त एकीकरण गर्छु भनेरै यो काम सम्पन्न भएको थियो वा एउटा योद्धाले जमिनको स्वामित्व बढाउँदै लैजाने महत्वाकांक्षाबाट यो मुलुक जन्मेको हो भन्ने कुरा राम्ररी नखुलेको माथेमा सुनाउँछन्। परिणामलाई मात्र हेर्ने हो भने हिमाल, पहाड र मधेससमेत अटाएको यति सम्पन्न मुलुक दिएर जाने पृथ्वीनारायणलाई धन्यवाद भन्नैपर्ने उनको ठहर छ।

राज्य एकीकरणपछि कहिले योग्य राजा नहुनु त कहिले राणाहरूको घेराबन्दीमा पर्नुका बीच एकैपटक महेन्द्रको पालामा बल्ल पृथ्वीनारायणको वंशले राजनीतिक समझ भएको राजा पाएको माथेमा बताउँछन्।

‘तर उनले त एउटै भाषा एउटै भेषको नीति बनाएर झन् भसक्कै पारिदिए,’ उनी थप्छन्, ‘उल्टो ब्याक गियर पो लगाइदिए।’

महेन्द्रले उतिबेला अघि बढाएको विचारकै प्रभावमा अहिले पनि ढाके टोपीको राष्ट्रियताले चर्को रूप लिइरहेको उनलाई लागिरहेको छ। ‘सबैलाई एकैजस्तो बनाउने काम अघि बढ्यो,’ उनी भन्छन्, ‘हेर्नुस् त, यहीँ पनि नेवारी भाषै पो हराएर जाने अवस्था आइसक्यो।’

त्यसको प्रभाव कतिसम्म भइदियो भने नेवारी बोल्न नजान्ने माथेमा अरूलाई मात्र दोष दिनुभन्दा एकपटक आफैंलाई सम्झेर पनि लज्जित हुन्छन्।

‘सत्तरीको दशकमा मैले कक्षा १० को विद्यार्थीले पढ्ने गरी अंग्रेजीको पाठ्यपुस्तक तयार पारेको थिएँ,’ उनले भने, ‘पछि हेर्दा त थुप्रै पुस्ता नेपालीले पढेको त्यो किताबभरि एउटै पनि मधेसी नाम रहेनछ। जनजातिबाट पनि राई कि गुरुङ कसको हो जम्मा एउटा नाम रहेछ।’

‘त्यसैले भौगोलिक रुपमा त एकीकरण भयो,’ उनी भन्छन्, ‘तर, साँस्कृतिक हिसाबले भएन।’ 

एउटै जातजाति, एउटै भाषा र एउटै संस्कृतिको मात्रै बलमिच्याइँ सहँदै आएकाहरूले नै अहिले मौका पाएका बेला आवाज उठाइरहेको माथेमा बताउँछन्। ‘यो आवाजलाई म नाजायज भन्दिनँ,’ उनी थप्छन्, ‘बरु यस्तो कुरा उठाउनेलाई बाहिरका तत्वले भड्काएको भन्नेहरू देखेर मलाई नरमाइलो लाग्छ।’

मधेसी, दलित र जनजातिको जुत्ताभित्र आफूलाई राखेर हेर्दा बल्ल उनीहरूले भोग्दै आएको त्यो असहजता महशुस हुने माथेमा सुनाउँछन्।

‘म अहिले न्यानो कोठामा बसिरहेको छु। यस्तो अवस्थामा मलाई यही स्थिति ठीक छ भन्ने लाग्नु स्वाभाविक हो,’ उनी भन्छन्, ‘तर, बाहिर चिसोमा काँपेर बस्नेहरूलाई त ठीक भएन नि!’

त्यसैले यो मुलुकलाई बलियो बनाउने हो भने विगतमा भएका गल्ती सच्याएर अब साँस्कृतिक एकीकरणमा जानैपर्ने माथेमाको ठहर छ। उनका अनुसार त्यसले मात्र पृथ्वीनारायणको भौगोलिक एकीकरणलाई पूर्णता दिनेछ।

नयाँ संविधानले जुन दिन सबैको स्वीकृति पाउँछ, त्यस दिन पृथ्वीनारायण शाहबारे फेरि एकपटक बहस हुनेछ र त्यसपछि एउटा सर्वस्वीकृत परिणाम आउनेछ भन्ने माथेमालाई लाग्छ। ‘जर्ज वासिङ्टन पनि त सामन्ती जमिन्दारै थिए,’ उनी भन्छन्, ‘जमिन्दारहरू मिलेरै अमेरिकाको संविधान बनाएका हुन्।’ 

भौगोलिकसँगै भावनात्मक एकीकरण पनि भएपछि एउटा सुखद दिन आउला भन्ने माथेमालाई लागेको छ। ‘जसरी गान्धीको कुनै जात छैन,’ उनले थपे, ‘त्यो दिन गुरुङ, मगर, राई, लिम्बू, मधेसी, दलित सबैले पृथ्वीनारायणमा आफ्नो पनि अनुहार देख्न बेर छैन।’

अहिले नै चाहिँ यो संवेदनशील बखतमा अनावश्यक बढाइचढाइँ गरिहाल्न माथेमालाई खासै जाँगर छैन।

‘अलिदिन पख्नोस्, समाधान निस्कोस्,’ उनले थपे, ‘त्यसपछि नेपाली जनताले एक स्वरबाट के भन्दारहेछन् हेरौंला।’

 

Hundai
fasino
sagoon

प्रतिकृया दिनुहोस

बिज्ञापन

थप समाचार

  • म कुनै म्यानपावरमा संलग्न छैनः शर्मिला पराजुली

    म कुनै म्यानपावरमा संलग्न छैनः शर्मिला पराजुली

    उनले आफूलाई मलेसियाबाट डिपोर्ट गरिएको भनेर समेत समाचार आएकोमा खेद व्यक्त गरिन्। पराजुलीले भनिन्,‘मेरो पासपोर्ट हेर्न सक्नुहुन्छ, यो गलत कुरा हो, हुन त मिडियाका साथीहरुले मसँग आएर केही सोधिदिए हुन्थ्यो भन्ने लागेको थियो, तर आउनुभएन्, म उहाँहरुलाई पनि दोष दिन चाहन्न, म सधँै आफ्नो बारे मिडियालाई बताउन चाहन्छु।’

  • प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छः नेता नेपाल

    प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छः नेता नेपाल

    नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्। जिल्लाको मुडिकुवा गाविसमा आज आयोजित बृहद् जनसभालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधन प्रस्ताव नेपालीको हितमा नभएको बताए। प्रधानमन्त्रीले उक्त प्रस्ताव तत्काल फिर्ता लिँदा वा त्यत्तिकै थन्क्याउँदा उत्तम हुने उनको भनाइ थियो ।

  • निर्धारित समयमा निर्वाचन हुन्छ- नेता खनाल

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले निर्धारित समयमा निर्वाचन हुनेमा आशङ्का नगर्न आग्रह गरेका छन्।  रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा खनालले मुलुक निर्वाचनतर्फ अगाडी बढेकाले निर्वाचन गर्नबाट कसैले पनि रोक्न नसक्ने बताए। स्थानीय तहको निर्वाचन भएपछि अरु निकायको पनि निर्वाचन हुने उहाँले विश्वास व्यक्त गरे।

  • सांसद सम्मेलन सुरु

    परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत समस्या जतिसक्दो चाँडो अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। एसियन दलित अधिकार मञ्चद्वारा आज यहाँ आयोजित ‘दक्षिण एसियाका दलित तथा गैरदलित सांसद सम्मेलन’ को उद्घाटन गर्दै मन्त्री महतले दलित समुदायले भोगिरहेको छुवाछूतको समस्या उनीहरूको मात्र समस्या नभएर समग्र नेपालको समस्या भएको र त्यसको अन्त्य गर्नेतर्फ सरकार लागिपरेको बताए। 

  • ग्रामीण क्षेत्रका बालबालिकामा शिक्षाको पहुँच बढाउन राष्ट्रपतिको जोड

    राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलोदय माध्यामिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयद्वारा आज आयोजित विशेष समारोहमा स्वर्णसरस्वती स्तम्भ तथा नवनिर्मित भवनको उद्घाटन गरिन्। काठमाडौंको प्रमुख प्रवेशद्वार हाल चन्द्रगिरी नगरपालिका– ५ थानकोटमा रहेको सो विद्यालयले विसं २०२३ देखि मावि तहको अध्ययन अध्यापनको सुरुवात् गरेको थियो । गतवर्षको विनाशकारी भूकम्पले विद्यालयको भवनमा क्षति पुर्‍याएपछि करिब तीन करोडको लागतमा भवन निर्माण गरिएको हो ।

Hundai

लोकप्रिय

vianet

सूचनापाटी