संविधानसभा निर्वाचनअन्तर्गत सिरहा निर्वाचन क्षेत्र नं ५ का नेकपा (एमाले)का उम्मेदवार लीलानाथ श्रेष्ठले दुई वटा गाविसको ६ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै ती मतदान केन्द्रको पुनः निर्वाचन गराउन माग गरेका छन्।
श्रेष्ठले आज दिउँसो सिरहाको चन्द्रलालपुर–७ चोहर्वास्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी क्षेत्र नं ५ को कल्याणपुर कालावञ्जर गाविसको प्रावि कल्याणपुर मरेवाको मतदान केन्द्र 'क' र 'ख', बडहरामाल गाविसको निमावि भुल्के मतदान केन्द्र 'क' र 'ख' मा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेका हुन्।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा बडहरामाल–८ र ९ मा रहेको प्रावि मतदान केन्द्रको 'क' र 'ख' मा समेत एमाओवादी सम्बद्ध वाइसिएल कार्यकर्ताले मतदान केन्द्र कब्जामा लिई अन्य दलका प्रतिनिधिलाई लखेटेर एकलौटी रुपमा मत खसालेको आरोप लगाइएको छ।
विज्ञप्तिमार्फत श्रेष्ठले त्यसको विषयमा मतगणना सुरु हुनु अगावै मङ्सिर ५ गते नै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिँदासमेत सुनुवाइ नभएको बताए।
सो क्षेत्रबाट एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल १५ हजार २ सय ४४ मत सहित विजयी भएका थिए। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १४ हजार ३२३ मत पाएका थिए। रासस