मतपेटिकामा खसेको मत र निक्लेको मत नमिले पुनः मतदान गर्नुपर्ने माग गर्दै सप्तरी क्षेत्र नं २ का मुख्य दलका उम्मेदवारहरुले मतगणना बहिस्कार गरेका छन्।
नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा, राष्ट्रिय मधेस समाजवादी पार्टी, दलित जनजाति पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय शिवसेना पार्टी र तीन जना स्वतन्त्र उम्मेदवारले मतगणना बहिस्कार गरेका हुन्।
गएराति ९ बजेदेखि मतगणना कार्य सुरु गरिएपछि उहाँहरुले खसेको मत र मतपेटिकाबाट निक्लेको मत नमिले मतगणना स्थगित गरी पुनः मतदान गर्नुपर्ने माग राखेका थिए।
निर्वाचन आयोगको निर्देशन र निर्देशिकाबमोजिम मतपेटिकामा खसेको मतलाई नै यकिन गरी मतगणना गर्ने भन्दै निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले मतपेटिका खोली मत गन्न सुरु गरेपछि काँग्रेस, एमाले, राप्रपासहितका उम्मेदवारले नाराबाजी गर्दै होहल्ला गरेका थिए।
मतगणनास्थलमै होहल्ला भएपछि निर्वाचन अधिकृत अधिकारीको निर्देशनमा काँग्रेसका उम्मेदवार वीरवल विराजी, एमालेका उम्मेदवार शैलेन्द्रचन्द्र झा, राप्रपाका उम्मेदवार सकिल अलि मियाँलगायत अन्य दल र स्वतन्त्र उम्मेदवारहरुलाई प्रहरीले धकेल्दै मतगणना स्थलबाट बाहिर निकालेका छन्।
मतगणना स्थलबाट बाहिर निकालिएका उम्मेदवारहरुले पत्रकार सम्मेलन गरी को बसाइन गाविसस्थित राजाजी राप्रावि बनरझुलाको मतदान केन्द्रको मतपेटिकाबाट बढी मत निस्किँदा शनिबार पुनः मतदान गरिए झै अन्य मतपेटिकाबाट पनि बढी मत निस्किए पुनः मतदान प्रक्रिया गर्नुपर्ने माग गरेका छन्।
पत्रकार सम्मेलनमा काँग्रेसका उम्मेदवार विराजीले बनरझुला मतदान केन्द्रमा बढी मतपत्र निस्किँदा जसरी पुनः मतदान गरियो त्यस्तै अन्य मतपेटिकाबाट पनि बढी मतपत्र आए पुनः मतदान प्रक्रिया गर्नुपर्ने माग गरे।
को बसाइन गाविसस्थित राजाजी राप्रावि बनरझुलाको मतदान केन्द्रमा खसेको मत सङ्ख्या ६०१ उल्लेख भएकामा मतपेटिकाबाट ६५१ मतपत्र निस्किएपछि निर्वाचन आयोगले सो मतदान कार्य रद्द गरी शनिबार पुनः मतदान गरेको थियो।
जिल्ला निर्वाचन अधिकारी प्रदीप साहलाई माग सम्बोधन गर्न माग गर्दै आज उजुरी दिएको एमालेका उम्मेदवार शैलेन्द्रचन्द्र झाले बताए।
यसैबीच, मतगणनास्थलमा एमाओवादी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय जनता दल, सद्भावना पार्टीका प्रतिनिधिहरुको उपस्थितिमा मतगणना कार्य जारी रहेको छ। रासस