मंसिर ४ गते स्थगित भएको जुम्ला जिल्लाको देपाल गाविस झारज्वाला मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएको छ ।
उक्त मतदान शान्तिपूर्ण र स्वतन्त्ररुपमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।
उक्त केन्द्रमा मतपत्र र मतपेटिका सहितका निर्वाचन सामग्री लुटिएका कारण गत मंगलबारको मतदान स्थगित गरी शुक्रबार गरिएको हो ।
उक्त मतदान केन्द्रको मतपेटिका सदरमुकाम पुगे लगत्तै जुम्लाको मतगणना कार्य सुरु हुनेछ ।
सप्तरी क्षेत्र नं २ को एउटा मतदानकेन्द्रमा शनिवार पुनः मतदान हुने
सप्तरी जिल्लाको क्षेत्र नं २ अन्तर्गत बर्साइन गाविसको राजाजी राष्ट्रिय प्रा.वि., बनरझुला (क) मतदानकेन्द्रको पुनः मतदान मंसिर ८ गते शनिवार हुने भएको छ ।
उक्त केन्द्रमा गत मंगलबार भएको निर्वाचनमा मतदाता संख्याभन्दा अधिक मतदान भएको पाइएपछि उक्त केन्द्रको मतदान रद्द गरिएको थियो ।
मंसिर ४ गते देशका २४० निर्वाचन क्षेत्रमा भएको निर्वाचनमध्ये जुम्ला र सप्तरीको एक/एक मतदानकेन्द्रमा मात्र पुनः मतदान गर्नुपरेको हो ।