सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्न नमिल्ने बताएका छन्। नेता पौडेलले एमाले र कांग्रेसबीच विगतमा भएको सहमतिमा आधारित संविधान संशोधन प्रस्ताव कसरी राष्ट्रघाती भयो भनि विपक्ष एमालेलाई प्रश्न पनि गरे।
जापानको साताव्यापी भ्रमण गरी स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुलुकलाई निकास दिन सबै पक्षबीच सहमति हुनुको विकल्प नरहेको बताए। उनले पाँच नम्बर प्रदेशका जनताको सहमति र दलहरुबीचको सम्झदारीमै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने धारणा पनि दोहोर्याए।
नेता पौडेलले संविधान कार्यान्वयनका लागि मधेशवादी दलहरु पनि सहमतिमा आउनु पर्नेमा जोड दिए। संघीयता, गणतन्त्रसहितका उपलब्धिको रक्षा गर्न मधेशवादी दलहरु पनि गम्भिर हुनुपर्ने खाँचो औल्याए।
नेता पौडेलले आफनो जापान भ्रमण सफल भएको दावी पनि गरे। नेता पौडेलले जापान बसाईको क्रममा त्यहाँका सरकारी अधिकारीहरु छलफल गरी द्धिपक्षीय हितको विषयमा कुरा गरेको पौडेलको निजी सचिबालयले जनाएको छ।