नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन नेपालको भरपर्दो मित्र हो भन्दै पारस्परिक सम्बन्ध सुदृढ तुल्याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी हुने बताए।
चाइना–रेडाक्टोलोजिकल सोसाइटी करेन्ट प्रकाशन प्रालिले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको २१औँ शताब्दीमा सञ्चार क्षेत्रको भूमिका विषयक छलफल कार्यक्रममा उनले चीन नेपालको सुख दुःखको साथी रहेको बताए। गत वर्षको भूकम्पका बेला चीनले गरेको सहयोग नेपाली जनताले सम्झिरहेको बताउँदै उनले सरकारी र जनस्तरको क्षेत्रमा दुई देशको सम्बन्ध रहेको बताए।
सोसाइटीका अध्यक्ष हाओ भ्येङसेङले नेपालले अवलम्बन गरेको एक चीन नीति र चीनको चासोप्रति दर्शाएको संवेदनशीलता सराहनीय भएको बताए। प्रकाशनका अध्यक्ष देवेन्द्र गौतमले नेपाल–चीन सम्बन्धका विविध पक्षबारे चर्चा गरे। पूर्व राजदूत सुन्दरनाथ भट्टराई, पत्रकार युवराज घिमिरेलगायतले पारस्परिक सम्बन्धबारे बोलेका थिए। रासस