भारतबाट थप बिजुली आयात नभए पनि मध्य पुससम्म लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले लोडसेडिङ नगर्न भारतबाट थप २ सय २० मेगावाट बिजुली आयातको तयारी गरिरहेको छ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार देशभित्रका विभिन्न विद्युत आयोजनाबाट करिब ७५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो।
अधिकारीले पाँचथरको मियाखोला ९९६ किलोवाट बिजुली मंसिर १८ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए। उनका अनुसार खानी खोला जलविद्युत आयोजनाको २ मेगावाट बिजुली मंसिर २० गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यसअघि खानी खोला हाइड्रो प्रालिको कात्तिक ९ गते नै टुगुन ठोस्ने आयोजनाको ४.३६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
दरौंदी कालिका हाइड्रोपावरको दरौंदी खोला ए जलविद्युत आयोजनाको ७ मेगावाट बिजुली पनि मंसिर १२ गतेबाट उत्पादन सुरु भएको छ। पाँचथरको हेवा खोला ए १४.९ मेगावाटको आयोजनाले पुस १ गतेबाट उत्पादन सुरु गर्ने भएको छ। अधिकारीका अनुसार मादी पावर प्रा.लि.को माथिल्लो मादीबाट पनि पुस ९ गते २५ मेगावाट बिजुली उत्पादन हुने छ। त्यस्तै सिनो हाइड्रो पावरको माथिल्लो मस्र्यांङ्दी ए बाट थप २५ मेगावाट बिजुली पनि पुस ९ बाट थपिने छ।
यी सबै रन अफ दी रिभर आयोजना हुन्।
‘यी आयोजनाको बिजुली थपिएपछि हामीले पुस १५ सम्म त भारतबाट थप बिजुली नआएपनि काठमाडौं वरपर लोडसेडिङ गर्नुपर्दैन’, अधिकारीले भने ‘त्यसपछि पनि लोडसेडिङ नगर्न भारतबाट बिजुली ल्याउन हर उपाय गरिरहेका छौं।’
यही अवधिमा नेपाली पक्षले टनकपुरमा ५० एमभिएको ट्रान्सफर्मर राख्नु पूर्वनै थप १० मेगावाट बिजुली दिन भारतीय पक्षलाई अनुरोध गरेको छ। ‘ओभर करेन्ट सेटिङ गरेर टनकपुरबाट थप १० मेग मेगावाट बिजुली ल्याउन अनुरोध गरेका छौं’ अधिकारीले भने ‘भारतीय पक्षले स्वीकृति दिएमा पुसको पहिलो साताबाट थप १० मेगावाट बिजुली टनकपुरबाट पनि ल्याउन सकिन्छ।’
प्राधिकरणले यसअघि भारतबाट थप बिजुली नआए पनि मंसिर मसान्तसम्म काठमाडौं उपत्यकासहितका १० जिल्लामा लोडसेडिङ नहुने बताएको थियो।
हिउँदमा पनि लोडसेडिङ हुन नदिन अहिले प्राधिकरणले टनकपुरबाट थप ४० मेगावाट, ढल्केबर– मुजफ्फपुरबाट थप ८० मेगावाट, रक्सौल–परवानीपुरबाट ५० मेगावाट र कटैहया–कुशहवा प्रसारण लाइनबाट ५० मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको छ। ‘डिसेम्बर अन्तसम्ममा सबै भौतिक संरचनाको निर्माण सक्ने गरी काम भइरहेको छ’, प्रवक्ता अधिकारीले भने ‘अझै पनि हामी लोडसेडिङ नहुनेमा आशावादी छौं।’