अग्रेंजी महिना डिसम्बर सुरु हुने बित्तिकै भारतको दक्षिणी राज्य तामिलनाडुका जनताको मनमा एककिसिमको त्रास पलाउन थाल्छ। त्रास नपलाओस् पनि किन! विगत तीन दशकका ठूला विपत्तीमध्ये अधिंकाश डिसेम्बरमै भएका छन्।
सन् २००४ मा आएको सुनामी होस् वा गत वर्ष परेको मुसलधारे पानी, करौडौंको धनमाल र हजारौंको ज्यान गएको घटना डिसेम्बर महिनामै भएको थियो। यसपालि पनि राज्यमा आउने कुनै विपत्तीबारे उनीहरू सर्तक थिए।
भयो पनि त्यस्तै, उनीहरूले 'भगवान' झै पुज्ने मुख्यमन्त्री जयललिताको निधन पनि डिसेम्बरमै भयो।
तमिलनाडुकी लोकप्रिय नेता तथा मुख्यमन्त्री जयललिताले ६८ वर्षको उमेरमा प्राण त्यागेको घोषणा सोमबार राती साढे ११ बजे उनको उपचारमा संलग्न चिकित्सकहरूले गरेका हुन्। हृदयघातका कारण अस्पताल उनको निधन भएको हो।
जयललिताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो ४ बजे 'राजाजी हल' मा राख्ने कार्यक्रम छ। सरकारले तीन दिनको शोक मनाउने र सार्वजनिक बिदा दिन घोषणा पनि गरिसकेको छ।
जयललिताको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विपक्षी दलका नेताहरू सबै तमिलनाडु पुग्ने कार्यक्रम रहेको छ। अल इन्डिया अन्ना द्रविड मनेत्र कषगम् (अन्नाद्रमुक) पार्टीको महासचिव रहेकी जयललिता निमोनियालगायत छातीसम्बन्धि रोगका कारण दुई महिनादेखि एम्स अस्पतालमा उपचाररत थिइन्।
जयललिताको न्वारनको नाम कोमलावल्ली हो। यो नाम उनकी हजुरआमाले जुराएकी थिइन्। मैसुरको मेलुकोटेमा मध्यम वर्गिय परिवारमा जन्मिएकी जयललिता राजनीतिमा आउनुअघि दक्षिण भारतकी चर्चित अभिनेत्री थिइन्। उनी सानै छँदा पिताको निधन भएको थियो। त्यसपछि १५ वर्षको कलिलो उमेरमै पढाइ छाडेर आमाको अनुरोधमा फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन्।
सानोमा उनको इच्छा आफ्नो बुवा झै वकिल बन्ने थियो। जयललिताले पहिलो फिल्म नै अग्रेंजी भाषामा गरेकी थिइन्। यसले पनि अग्रेंजीमा भाषामा उनको दख्खल सानैदेखि राम्रो भएको थाहा हुन्छ।
लगत्तै उनले दक्षिण भारतका सुपरस्टार एमजी रामचन्द्रन, जो एमजीआरको नामले प्रख्यात छन्, उनीसँग थुप्रै तमिल, तेलुगु र कन्नड फिल्ममा अभिनय गरेकी थिइन्। जयललिताले १९६१ देखि ८० को दशकसम्ममा १ सय ४० फिल्ममा काम गरेकी थिइन्, जसमा सबैभन्दा धेरै हिरोको भूमिकामा एमजीआर नै देखापरेका थिए।
तामिल फिल्मकी 'हन्टरवाली' जयललिताले हिन्दी फिल्म 'इज्जत' मा पनि अभिनय गरेकी थिइन्। जसमा उनको हिरो थिए, धर्मेन्द्र।
हिन्दु परम्परालाई निकै महत्व दिने दक्षिण भारतमा जयललितालाई यति सहासिक अभिनेत्री मानिन्छ, जसले ७० को दशकमा 'स्कट' पहिरेर अभिनय गरेकी थिइन्। उनी नै 'स्कट' लगाउने पहिलो दक्षिण भारतीय हिरोइन हुन्।
जयललितालाई राजनीतिमा ल्याउने श्रेय पनि एमजीआरलाई नै जान्छ। उनले नै ७० को दशकमा आफूले स्थापना गरेको अन्नाद्रमुक पार्टीमा जयललितालाई पार्टीको प्रचार–प्रसार विभागको जिम्मेवारी दिने उद्देश्यले ल्याएका थिए।
तर, पछि जयललिता पार्टीमा यति लोकप्रिय बनिन्, सन् १९८४ मा उनले बिरामी पर्न थालेका एमजीआरसँग पार्टीको उच्च पद नै माग गरिन्। एमजीआरको उत्तराधिकारीको दौडमा उनको परिवारका सदस्य, विशेषगरी एमजीआरकै तेस्रो श्रीमती जानकी रामचन्द्रन् थिइन्। अघिल्ला दुई श्रीमतीको निधनपछि एमजीआरले १९६३ मा जानकीसँग बिहे गरेका थिए।
त्यसैले, एमजीआरले ३६ वर्षिय पूर्वस्टारको महत्वकांक्षा रोक्न राज्यसभामा पठाइदिए। राज्य सभाको राजनीति जयललिताका लागि फलिफाप सिद्ध भयो। पाँचवर्ष नयाँ दिल्लीमा बसेर काम गर्ने क्रममा जयललिताले राजनीतिको नयाँ दाउपेच सिक्ने मौका पाइन्। उनले भारतीय राजनीतिलाई पनि नजिकबाट नियालिन्। त्यसैले सन् १९८७ मा एमजीआरको निधन भएपछि उनले पार्टीको उच्च पदका लागि आफ्नो दावेदारी नै घोषणा गरिन्।
एमजीआरकी श्रीमती जानकी र उनीबीच केही समय पार्टीको नेतृत्व हत्याउने विषयमा विवाद चलेको थियो। उनलाई नेतृत्वबाट तह लगाउन जानकीले आफ्नो श्रीमानको श्रद्धाञ्जली सभामा जयललितालाई निम्तोसमेत दिइनन्। तर, अघिल्लो निर्वाचनमा जानकीको पराजय भयो। जयललिता ठूलो मतअन्तरले जित्न सफल भइन्। यसपछि पार्टीको मुख्यपद उनको हातमा आयो।
यसपछि तमिलनाडुको राजनीतिले पनि नयाँ मोड लियो।
जयललिता छिटो निर्णय लिने नेताको रुपमा भारतीय राजनीतिमा चर्चित छिन्। राजनीतिक रुपमा आफूलाई नोक्सान भएपनि उनी तुरुन्त निर्णय लिइहाल्थिन्। उनको यो स्वभावबाट भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयी पनि कायल भएका थिए।
सन् १९९१ को विधानसभा निर्वाचनमा जयललिताले भारतीय जनता पार्टीसँग मिलेर चुनाव लड्ने मन बनाएकी थिइन्। यसका लागि उनले पार्टीका पूर्व अध्यक्ष बाजपेयीसँग प्रस्ताव पनि राखिन्। तर, उनको प्रस्तावको विषयमा भाजपाले निर्णय गर्न ढिलाई गर्यो। भाजपाको निर्णय नआउँदै जयललिताले भारतीय काग्रेंससँग मिलेर चुनाव लड्ने रणनीति बनाइन्। नभन्दै, यसको फाइदा उनलाई भयो। उनी काँग्रेसको समर्थनमा ४३ वर्षको कम आयुमा सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बनिन्।
जयललिता आफ्नो तीन दशक लामो राजनीतिक जीवनमा ६ पटक मुख्यमन्त्री निर्वाचित भइन्।
गत वर्ष भारतमा भएको विधानसभा निर्वाचनको बेला सबै राज्यमा नरेन्द्र मोदीको प्रभाव अत्याधिक देखिएको थियो। तर, तमिलनाडु मात्र यस्तो राज्य थियो, जहाँ मोदीको लोकप्रियता देखिएन्। यहाँ 'अम्मा' को नामले पुजिने जयललिताले दुई तिहाइ मत प्राप्त गरेकी थिइन्।
भारतीय राजनीतिमा विश्वासका कारण पनि उनलाई सबैले स्नेह गर्ने गर्दछन्। उनी केन्द्रमा आफ्नो गठबन्धन दलसँग प्रतिकूल अवस्थामा पनि परस्पर विश्वासको आधारमा काम गर्ने गर्थिन्।
तमिलनाडुमा राजनीतिमा जयललितालाई 'देवी' को रुपमा पुजिने गरिन्छ। तर, उनीसँग जोडिएका थुप्रै विवाद पनि छन्। उनलाई आयभन्दा बढि सम्पत्ति राखेको आरोपमा २ पल्ट जेल सजाय भइसकेको छ। गत वर्ष सर्वोच्च अदालतले उनीमाथि लागेको सबै आरोपबाट उन्मुक्ति दिएपछि पुनः मुख्यमन्त्री बनेकी हुन्।
जयललिता बुढ्यौली उमेरमा पनि चिटिक्क सजिएर बस्न रुचाउँथिन्। साडीअनुसारको 'स्यान्डल' र घडी लगाउने उनको पुरानै सोख थियो। सन् १९९६ मा आयकर विभागले छापा मार्दा उनको घरबाट हजारभन्दा बढि साडी र आठ सयको हाराहारीमा 'स्यान्डल' फेला परेको थियों। यस्तै, २ सयको हाराहारीमा बहुमुल्य घडी पनि फेला परेको थियो। राजनीतिमा प्रवेश गरेपछि उनी फिल्मी दुनियाबाट पुरै टाढा बसिन्। उनी कहिल्यै फिल्मी पार्टीहरूमा सहभागी भइनन्। सबैभन्दा रोचक कुरा, राजनीतिमा प्रवेश गरेपछि उनले हिरोइन जस्तै कहिल्यै 'मेक–अप' गरिनन्।
सन् १९९५ मा छोरा सुधाकरणको बिहेको पार्टीलाई लिएर उनको ठूलो आलोचना भएको थियो। 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड' मा समावेश भएको यो बिहेमा उनले १ लाख ५० हजार व्यक्तिलाई आमन्त्रण गरेकी थिइन्। यो बिहेलाई लिएर विपक्षीले ठूलो हंगामा गरेको थियो। जसका कारण उनले विशेष अदालतमा पुगेर बिहेको सम्पूर्ण खर्च दुलहीतर्फबाट गरिएको स्पष्टीकरण दिनु परेको थियो।
जयललितालाई नजिकैबाट चिन्नेहरू उनलाई आत्मविश्वासी महिला भन्न रुचाउँछन्। सन् १९९१ अघि उनलाई अपमानित गर्न प्रतिपक्षका एक सासंदले संसद भवनभित्रै उनको साडी तानेका थिए। जसका कारण उनी भूइँमा लड्न पुगेकी थिइन्। त्यही दिन उनले आफ्नो प्रतिपक्षीलाई समाप्त पार्ने संकल्प लिएकी थिइन्। तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डिएमके नेता करुणानिधी र उनको पुरै परिवारलाई लामो समय राजनीतिमा उठ्न नसक्ने गरि भ्रष्टाचारको मुद्धामा समाप्त पारिन्।
जयललिता राज्यमा गरिबहरूका लागि कम मुल्य र निशुल्क विभिन्न योजना सञ्चालन गरेर लोकप्रिय बनेकी थिइन्। उनले सञ्चालन गरेको अम्मा क्यान्टिन, अम्मा मिनरल वाटर, अम्मा ल्यापटप, अम्मा बेबीकिट, अम्मा फार्मेसी, अम्मा नुन, अम्मा सिमेन्ट, अम्मा मोबाइल, अम्मा मिक्सर र अम्मा सिनेमा अहिले पनि राज्यका उपेक्षित वर्गमाझ निकै लोकप्रिय छ।
सन् २०१४ मा उनलाई भ्रष्टाचार मुद्धामा दुई वर्ष जेल सजाय तोकिएको थियो। उनलाई त्यतिबेला जेल सजाय हुँदा राज्यका केही महिलाले आत्महत्या गरेका थिए। उनको निधनको खबर सुनेपछि एक महिलाको निधन भएको खबर समेत आएको छ।