त्रिवि शिक्षण अस्पतालमा २१ दिनदेखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनरक्षार्थ आयोजित प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि सहभागी भए।
विभिन्न दल, संघ संस्था, डाक्टर, प्राध्यापक, विद्यार्थी, नागरिक अगुवाहरुमाझ भट्टराई पनि देखिए।
सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले शनिबार माइतीघरबाट बानेश्वरसम्म दबाबमूलक प्रदर्शन आयोजना गरेको थियो। लामो समयदेखि अनसन बस्दा केसी गम्भीर बन्दै गए पनि सरकारले माग पूरा नगरेको भन्दै अलाइन्सले प्रदर्शन गरेको हो।
माइतीघरमा आइपुगेका भट्टराई प्रदर्शनमा हिँड्दै बानेश्वरसम्म पुगेका थिए। उनी प्रधानमन्त्री भएको बेला चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्ति हुन थालेको थियो।
तर, यसपालि कनिष्ठ व्यक्ति केपी सिंहलाई नियुक्ति गरिएपछि केसी अनसन बसेका थिए। केसी अनसनको २० औं दिन सिंहले राजीनामा दिइसकेका छन्।