प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले काठमाडौ क्षेत्र नम्बर १ को सहकारी प्रशिक्षण केन्द्र, बानेश्वर मतदान केन्द्रबाट बिहान ७:०० बजे मतदान गरेका छन्।
उक्त मतदानकेन्द्रमा उप्रेतीले पहिलो मतदाताको रुपमा मतदान गरेका छन्। मतदान गरेपश्चात उप्रेतीले मतदानका लागि देशैभरि उत्साहपूर्ण सहभागिता र शान्तिपूर्ण वातावरण रहेको दावी गर्दै मतदान केन्द्रमा आएका र आउँदै गरेका सबै मतदानलाई बधाई र शुभकामना दिएका छन्। ‘तपाईहरुको उत्साह र उमंगले संविधानसभा बन्दैछ र यसले नयाँ संविधान बनाउँछ,’ उनले भने ।
‘‘ऐतिहासिक निर्वाचनमा तपाईहरुको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ ।’ मतदातालाई सबै काम छोडेर मतदानका लागि जान आग्रह गर्दै उप्रेतीले ‘‘यो मौका फेरि कहिल्यै आउँदैन, आजमात्र हो’ भने।
त्यसैगरी निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले काठमाडौं क्षेत्र ५ धुम्बाराहीस्थित यूनिभर्सल उच्च माविबाट, आयुक्त रामभक्त पीबी ठाकुरले काठमाडौं १ को डिल्लीबजार कन्या मावि केन्द्रबाट, आयुक्त डा. अयोधिप्रसाद यादवले काठमाडौं–५ को राहदानी विभाग, नाराणहिटी ग मतदान केन्द्रबाट, आयुक्त इला शर्माले काठमाडौं–१ को थापाथलीस्थित प्रसूतिकेन्द्र मतदान केन्द्रबाट र निर्वाचन आयोगका सचिव नरेन्द्र दाहालले पनि राहदानी विभाग, नाराणहिटी ग मतदान केन्द्रबाट मतदान गरेका छन्।