दैलेखको टामुडा गाविस–२ स्थित हाराकोट मतदान केन्द्रबाट बैद्य माओवादीका कार्यकर्ताले मतपत्र र मतपेटिका लुटेपछि मतदान केही बेरका लागि स्थगित भएको छ । प्रहरीले हवाईफायर गरेपछि भएको भागदौडमा परी १२ जना घाइते भएका छन् । माओवादीले गाउँगाउँमा मतदाताहरुलाई मतदान गर्न जानबाट रोक लगाएको छ ।
दैलेखको निर्वाचन क्षेत्र २ को हाराकोट मतदानकेन्द्रबाट बैद्य माओवादीका कार्यकर्ता बिनी शाहीको नेतृत्वमा आएको समूहले करिब ६०० मतपत्र र दुईवटा मतपेटिका समेत लुटेर लगेका छन् ।
त्यसक्रममा प्रहरीले करिब १६ राउण्ड हवाइफायर गरेको छ ।
प्रहरीले हवाई फायर गरेपछि भएको भागदौडमा १२ जना मतदाता घाइते भएका छन् । अहिले नेपाली सेनाका कर्णेल उत्तम बोगटी टोलीले हेलिकप्टरबाट मतपेटिका र मतपत्र उक्त मतदान केन्द्रमा पुर्याएको छ भने घाइतेहरुलाई हेलिकप्टरबाटै सदरमुकाम ल्याइएको छ ।
अब १ घण्टापछि मतदान पुनः सुचारु गरिने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले बताएका छन् ।
यसैबीच नेकपा–माओवादीका कार्यकर्ताहरुले गाउँ गाउँबाट मतदान गर्न आउन लागेका मतदाताहरुलाई जबर्जस्ती रोकी राखेको र त्यसक्रममा केही स्थानमा झडप समेत भएको बुझिएको छ ।