दोस्रो जनआन्दोलनका नागरिक आन्दोलनकारीहरुले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको सिफारिसबिरुद्ध शीतलनिवास गुहार्ने भएका छन् । अहिले पौने सातमा नागरिक उनिहरुसँग राष्ट्रपतिले भेट्दै छन् ।
उनीहरुले अख्तियार प्रमुखमा लोकमानको सिफारिस अस्वीकार गर्न राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै छन् । ज्ञापनमा संविधान अनुसार कार्की अख्तियारका लागि अयोग्य भएको दाबी गरिएको छ । लोकमानको नाम अदृश्य शक्तिकेन्द्रबाट आएको र संवैधानिक परिषदले रहस्यपूर्ण ढंगले सिफारीस गरेको दाबी आन्दोलनका अगुवाहरुले गरेका छन् ।
राष्ट्रपतिसँग भेट गरेर सिफारीसलाई कार्यान्वयन नगर्न दबाब दिने नागरिक अगुवाहरुमा बरिष्ट अधिबक्ता शम्भु थापा, अधिबक्ता टिकाराम भट्टराई, पत्रकार कनकमणि दिक्षित, मानवअधिकारवादी सुशील प्याकुरेल, चरण प्रसाई, चिकित्सक डा.सरोज धिताल लगायत छन् । ६२/६३को आन्दोलनमा विद्यार्थी मोर्चाको नेतृत्व गरेका गगन थापा, रामकुमारी झाक्री, ठाकुर गैरे लगायतले पनि राष्ट्रपतिलाई भेट्दैछन् ।
प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनहरुले भोलि सोमबार क्याम्पस–क्याम्पसमा लोकमान सिफारिसको विरोधमा प्रदर्शन गर्ने भएका छन् । त्यस्तै, नागरिक आन्दोलनकारीहरुले भोलि सोमबार तीन बजेबाट राष्ट्रपति कार्यालयमा धर्ना थाल्ने भएका छन् ।
लोकमानको सिफारिस राष्ट्रपतिबाट अस्वीकृत नभएसम्म यसविरुद्ध आन्दोलन र अन्य प्रदर्शन जारी राख्ने नागरिक आन्दोलनकर्मी र राजनीतिक संगठनहरुले जनाएका छन् ।